मानव विकासको उत्परिवर्तन नै मानवको अतृप्त भावनाका एकएक अंश हुन्। मानिस नै त्यस्तो चेतनशील प्राणी हो जसले आफू यो जन्ममा सन्तुष्ट छु भन्ने होईन, सन्तुष्ट छु भन्ने बाहिरी भावसहितको नाटक प्रस्तुत गर्न तम्तयार देखिन्छ। संसारमा अब मलाई पैसा, धनसम्पत्ति, सुख सुविधा, आनन्द, मोजमस्ती, पद, शक्ति, इच्छा, मोह, चाहना, प्रेम, लगायत सबै पुग्यो भन्ने व्यक्ति सायदै यो भौतिकवादी समयमा भेटाउन सकिन्छ।
प्रकृतिको अनिवार्य नियम हो - जन्म लिए पछि मर्नु पर्दछ। यति जान्दाजान्दै पनि मानिसका असिमित मोहहरू छन्। यो अवश्यम्भावी नियम हो। म यो जीवनका लागि धरतीमा एउटा यात्री हुँ। बाँच्नका लागि मैले संर्घष गर्नु पर्दछ। जुन दिनसम्म मैले सहज रुपमा मेरो आहाराको जोरजाम गर्न सक्दछु– हो त्यही दिनसम्मको हो यो मेरो जीवन।
त्यो बेलासम्म म जीवित हुनेछु। मेरो पहिचान हुनेछ। र, त्यही नै प्रकृति हो। प्रकृतिले आफ्नो स्वरुप फेर्ला तर नियम कहिल्यै फेर्ने छैन। एक अर्काको स्वार्थ बिना यो धरतीमा कोही बाँचेको छैन। दार्शनिकहरू भन्छन्– जन्म र मृत्युको पनि आफ्नै स्वार्थ छ।
बालबच्चालाई आमा बुवाको सहारा चाहिन्छ। परिवारमा वृद्धवृद्धाहरुको लागि युवकको हेरचाह चाहिन्छ। वातावरणमा पर्यावरणीय सन्तुलनका लागि हरेक जीवजन्तुको अत्यावश्यकता पर्छ।
प्रत्येक विरुवाहरुको आ–आफ्नै नियम र कर्म छ। जल, चल, ढुङगा माटो, पहाड, हिमाल, समुन्द्र सबैका आफ्नै नियम छन्। आ–आफ्नै नियमले सारा जगत चलेको छ। साँच्चै भन्ने हो भने उत्तर आधुनिक कालका अधिकांश मानिसहरु भौतिकवाद र अध्यात्मवादको चेपुवामा पिल्सिएका छौँ। हामीलाई एकैपटक भौतिक सुखको आवश्यकता छ भने अध्यात्मप्रतिको आस्थाले मनोसन्तुष्टि पनि चाहिएकै छ।
मानिसलाई भौतिकवादका आविष्कारले भौतिक सुखानुभूति दिएको छ भने अध्यात्मवादले मानसिक रुपमा सुख दिएको छ। र पनि मानिस अझै सन्तुष्ट भने हुन सकेको छैन। कोही पनि यो संसारमा दुःख भोग्न तयार छैन।
हामीलाई कोही अदृश्य शक्तिले भाग्य निर्देशित गरिदिएको अनुभूति गर्दछौँ। आत्मा, परमात्मा र धर्मप्रति धेरै आस्था राख्दछाैँ। त्यही आस्थाप्रति एक रुपैयाँको सिक्का देखाएर करोडौँसम्म माग्न तयार हुन्छौँ। फल प्राप्तीका लागि प्रयत्न गछौँ। कर्म गछौँ। केही न केही फल प्राप्त हुन्छ। तर, भगवान् र त्यो आस्था प्रतिको प्रेम भुल्दछौँ।
‘धन्यवाद’ व्यक्त गर्न नपाउँदै अनि फेरि अर्को त्यस्तै आशाको लामो सूची नै तयार गर्न थाल्छौँ। हाम्रो तृप्ती कहिल्यै पनि पुगिसरी हुनै सक्दैन। एकपछि अर्को आशाका लम्वेतर मागहरू चलि नै रहन्छन्। भौतिकवादमा पनि एकपछि अर्को तथ्य र त्यसको तत्वमा आधारित रहेर त्यसको एक्सपेरिमेन्ट गर्दै जाँदा नयाँ सिर्जना र नतिजाको उत्पत्ति हुँदै जान्छ।
फेरि त्यो प्राप्त तथ्यलाई प्रयोग गरि नयाँ तथ्यको सिर्जना गर्ने मोह पलाउँछ। र त्यही मोहको नतिजा भन्नु पर्दछ– आजको वैज्ञानिक विकासको उत्कर्ष। मानिसलाई भौतिकवादका आविष्कारले भौतिक सुखानुभूति दिएको छ भने अध्यात्मवादले मानसिक रुपमा सुख दिएको छ। र पनि मानिस अझै सन्तुष्ट भने हुन सकेको छैन। कोही पनि यो संसारमा दुःख भोग्न तयार छैन। यद्यपि थाहा छ कि दुख र सुख एक अर्काका पाटा हुन्। दुःख गरेर नै सुखको प्राप्ती छ। खुशी– मज्जाले दुःख गर्न जान्नु र मज्जाले सुखको अनुभूति गर्न सक्ने भावना हो। यो हाम्रा लागि सधैँ क्षणिक हुन्छ।
हामी सुखको आशा त गर्छौँ, तर दुख गर्न खोज्दैनौँ। परिश्रम र कर्म बिना केही प्राप्त गर्न नसक्ने पनि हेक्का गदैनौँ। प्रायः हामीले अर्काको सुख देख्छौं, दुख देख्दैनौँ। समय र नियतिको संयोगले हामीलाई अन्योलतातर्फ धकेलिरहेको छ। भविष्यको पिरलो, विगतको पश्चाताप र वर्तमानको अनिश्चितताले हामी सबैको चैन, सुख र खुशी हरेको छ। हामी सबै आफ्नो एक सय बर्षसम्म बाँच्न सक्दैनौँ भने पनि सय बर्ष कै कल्पनामा बाच्दछौँ।
मलाई पुग्यो भन्ने मनोविज्ञान थोरै मानिसमा मात्र छ। यही सोचले हामीलाई सधैँ गरिब बनाएकाे हो। मलाई सबै पुग्दो छ भन्ने संसारमा कोही छ भने उ सर्वश्रेष्ठ छ। उ प्रकृतिको नियम, अध्यात्मको आस्था र भौतिकवादको भोगाइले सफल छु भन्ने अनुभूति गर्दछ। उ सुखी र खुसी छ
यो एउटा हाम्रो आशा हो। विश्वास हो। यहि पल हाम्रा लागि पर्याप्त हो कि होइन भन्ने कुनै निश्चिन्तता छैन। हामी भयङ्कर द्विविधामा छाैँ। वर्तमानलाई अँगालौ भने भविष्यको पिरलो छ। भविष्यलाई सोच्दा वर्तमानको कुनै अर्थ नै छैन। सबै क्षणिक छ तर पनि हामी यो मान्न तयार छैनौँ। पारिवारिक स्नेह र प्रेम पनि उस्तै नपुग्दो छ। छोरा पाए छोरीको मोह छ। छोरी पाए छोराको खाँचो छ। छोराछोरी दुवै पाए उनीहरुको भविष्य र आरोग्यताको चिन्ता छ। छोरीहरु मात्र पाए अन्धविश्वासको बोझ छ। समाजले के भन्छ भन्ने पिरलो छ। यौवनमा परिपक्वताको कमी छ। बुढेसकालमा साहारा र सान्निध्यताको कमी छ।
हामीलाई चिन्ताले फनफन्ती घेरेको छ। तर चिन्ताको मुक्तिका लागि चिन्तनको समय भने पुग्दो छैन। ‘अब मलाई चिन्ता गर्न पुग्यो’ भन्न हामीले कहिल्यै छोडेका छैनौँ। सायद, त्यो अन्तिम घडीको आत्मसमर्पण मात्र होला। मानिसका गुनासा अनेकन हुन्छन्। म मात्र यो संसारमा दुखी भए, मलाई मात्र यो संसारमा समस्याले सताए भन्ने जस्ता पिरलो मानिसमा सदैव रहन्छ। तर समस्याको सर्जक मै हुँ र त्यो समस्याको समाधान पनि मैसँग छ भन्ने चाहिँ भुल्दछन्।
अभावले हाम्रो मन झन् कठोर बनाएको छ। मनको महत्वकांक्षा बढ्दो छ। पाखण्डपन, व्यवहारिकताको अभाव र देखावटीपनको प्रतिस्पर्धाले हामीलाई अन्तै धकेलिरहेको छ। मानिसको मनोभावनाका अध्ययनकर्ताहरु भन्छन्– प्रत्येक मानिसका स्वभाव, असन्तुष्टि, समस्या, दुःख, गुनासा, क्रोध, स्वार्थपन, क्लेश, आफ्नो सोच र परिस्थितिले सिर्जना गर्दछ। यीनै परिस्थितिहरूले नै माया, प्रेम, स्नेह र सामीप्यताको रचना गरी यो सृष्टिलाई जीवन्त राख्दछ।
यो नै जगतको चक्र हो भन्दछन्। सकारात्मक सोचसहित आफ्नो मनोविज्ञानलाई जीवन्त राख्न सक्नु नै उसका लागि पुग्दो हो भन्ने बुझ्ने मानिस कमै छन्। मेरो अवस्था जे छ त्यसमा रमाउनु पर्दछ। म र मभित्रको मनलाई सन्तुलन राख्न आफैं तत्पर हुनु पर्दछ। जस्तो परिस्थिति छ त्यही स्वीकार गरि आफूले सक्ने सत्कर्म, असल र सहयोगी भावना प्रेरित गर्नुपर्दछ।
मलाई पुग्यो भन्ने मनोविज्ञान थोरै मानिसमा मात्र छ। यही सोचले हामीलाई सधैँ गरिब बनाएकाे हो। मलाई सबै पुग्दो छ भन्ने संसारमा कोही छ भने उ सर्वश्रेष्ठ छ। उ प्रकृतिको नियम, अध्यात्मको आस्था र भौतिकवादको भोगाइले सफल छु भन्ने अनुभूति गर्दछ। उ सुखी र खुसी छ। मानिस र भगवानका प्रिय हुन्छ। सक्नु हुन्छ भने ‘उ’ आफैभित्र खोज्नुस्। जीवन अर्थपूर्ण र जगत रमाईलो हुनेछ। महत्वकांक्षालाई आफैभित्र सन्तुलनमा राख्नुस्। आफ्नो सत्कर्म जारी राख्नुस्। मलाई पुग्दो छ भन्ने सकारात्मक सोचलाई अङगीकार गर्नुस्।
प्रतिक्रिया
निरज राज सुवेदी
2021-03-06 08:59:38जीवनका यथार्थता वडो शुन्दर ढङ्गले प्रस्तुत भएकोछ । राम्रो लाग्यो।