मैले हिजो गिरिजाबाबुको स्मृति दिवसको मौकामा यो पोस्ट गरिनँ। अरूहरूका पोस्टको अध्ययन गरेर बसेँ।
राप्रपाका रवीन्द्र मिश्रदेखि गिरिजाबाबुको विरासत थाम्ने परिवारका सदस्यहरूको समेत।
केही सान्दर्भिक, कतिपय अत्यन्त अतिरञ्जित तथा उपव्याख्या गरिएको। मलाई लाग्छ, पुराना कुराहरू ‘तथ्य’हरूको संयोजन तथा प्रमाणका साथ लेखिँदा इतिहास हुन्छ।
असत्य, अर्ध सत्य एवं अज्ञानतालाई टेकेर भावावेशमा लेखिएका कुराहरू प्रोपोगान्डा मात्र हुन्छ। यस आधारमा हामी सबैले आ-आफ्ना लेखाइको स्वमूल्यांकन गर्नु नै हुनेछ।
गिरिजाप्रसाद कोइराला वा समकालीन राजनीतिज्ञहरू कोही त्रुटीरहित देवता त हैनन्। विचारणीय कुरा के भने, हरेक व्यक्तिको योगदानको महत्व, तिनको गुण र दोषको मात्राको हो ! जस्तो कि, गिरिजाप्रसाद कोइरालाले नेपालमा गणतन्त्र स्थापनाको नेतृत्व गर्नु भयो।
यस निम्ति उहाँले नेपाली कांग्रेस पार्टीलाई नै वैचारिक रूपमा रूपान्तरित गराउनु भयो।
वि.स. २००४ सालदेखि संवैधानिक राजतन्त्रको पक्षमा रहेको पार्टीलाई गणतन्त्रको नेतृत्वकर्ता र वाहक बनाउनु भयो।
यस निम्ति सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई उहाँले शान्ति प्रक्रियामा ल्याउनुका साथै, गणतन्त्र स्थापनाको उद्देश्यका लागि सहयात्री हुन सहमत गराउनु भयो।
त्यस बखतका कतिपय कुराहरू आज सार्वजनिक भइसकेको छ। माओवादीलाई उपयोग गरेर राजा ज्ञानेन्द्रले खेल्न चाहेको खेल जगजाहेर छ।
माओवादी द्वन्द्वको पछिल्लो बखतको राजनीति दुई ध्रुवमा विभाजित थियो। राजाको प्रयत्न थियो- माओवादीलाई साथ लिएर सात दल, विशेषतः नेका तथा एमालेलाई समाप्त पार्ने।
यसका जानकार गिरिजाप्रसाद कोइरालाका लागि- राजाको प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्ने मनशायलाई असफल पार्न माओवादीको साथ लिएर गणतन्त्रको दिशामा जानुको विकल्प थिएन।
राजा आफ्नो कुटिल एवं कृतघ्न प्रयासमा सफल हुनु भएन। यसको सफलता गिरिजाबाबुलाई प्राप्त भयो। आज यसैमा गिरिजाप्रसादको आलोचना गरिन्छ।
आलोचना गर्ने राजावादीहरू तथा इतिहासका तथ्यहरू प्रति निरपेक्ष अज्ञानीहरू शायद यस तथ्यको हेक्का राख्दैनन् कि यदि राजा सफल भएको भए मुलुकका सबै भन्दा ठुलो, पुरानो प्रजातान्त्रिक शक्ति यिनको लागि सहानुभूतिका हकदार हुदैन्थ्यो होला।
मेरो विचारमा जनता र संवैधानिक राजतन्त्रका पक्षधर एक निष्ठावान प्रजातान्त्रिक शक्तिका प्रति ऐतिहासिक रूपमा कृतघ्न रहेका राजतन्त्रका प्रति न्याय थियो(मुलुकमा गणतन्त्रको स्थापना।
यस अर्थमा वि. सं. २००७ साल पछिको युगान्तकारी परिवर्तन गराउने श्रेय गिरिजाप्रसादको लागि सुरक्षित रहेको छ।
हाम्रो अभिमानी समाज, अग्रजहरूको स्तुति गर्ने समाज नायकहरूको योगदानमा कतिको कृतज्ञ छ त ? हामी समग्रमा अरूको योगदानहरूलाई कतिको अभिनन्दन गर्छौ त ? यता पनि ध्यान जानु पर्ने हो।
गिरिजाबाबुको बारेमा प्रतिक्रियाहरू लेखिँदा कतिपय बन्धुहरूले यता ध्यान नपुर्याएको जस्तो लाग्छ। मन मानेन, अनि आज यो पोस्ट राखेको छु।
सबैले बुझ्नु पर्ने हुन्छ कि गिरिजाबाबु नेपाली राजनीतिका गेम चेन्जर होइन, कोर्स चेन्जर हो। भलै, आज उहाँले बदलेको ‘कोर्स’ संग केही सहमत न होऊन्।
गिरिजाबाबु (दायाँ) र लेखक (जय प्रकाश आनन्द), र पिठ्यु फर्काएका चक्र बास्तोला।
बिपी कोइरालाको वि। सं। २०२६ पछिको भारत प्रवासका दौरान उहाँले मुखपत्रको रूपमा ‘तरूण’को प्रकाशनको व्यवस्था गर्नु भयो।
तरूणको सम्पादक चक्र बास्तोला र सुशील कोइराला, व्यवस्थापक वीरेन्द्र दाहाल हुनुहुन्थ्यो। तर, पहिलो सम्पादकीय बीपी कोइराला स्वयंले लेख्नु भएको थियो।
आ-आफ्नो समयमा शैलजा आचार्य, प्रदीप गिरी, तुलसीप्रसाद भट्टराईजीहरू पनि कुनै न कुनै रूपमा संलग्न रहनु भयो।
त्यस बखत कलकत्तामा रहनु भएका सूवर्ण शमशेरजीसँग बीपीको कार्यनीतिक फरक धार बनेको थियो।
यदि नेपाली कांग्रेसले व्यवस्थामै परिवर्तनको नेतृत्व गर्न सकेन भने यस पार्टीको कुनै औचित्य रहदैन।
बरू बिघटन गरिदिए हुन्छ। पंचायतको यथास्थितिलाई समर्थन भनेको त त्यस राजनीतिक व्यवस्थामा केही मानिसहरूको स्थानलाई सुरक्षित गर्नु मात्र हुनेछ।
बस् यतिको लागि ऐतिहासिक नेपाली कांग्रेसलाई कदापि पनि उपयोग गर्नु हुन्न् भन्ने बीपीको मान्यताले पार्टीभित्र अलग धार जन्माएको थियो- तेसैको स्पष्ट अभिव्यक्ति दिनका लागि मुखपत्र “तरूण”को पहिलो अंकको सम्पादकीय बीपी स्वयंले लेख्ने कुराबाट प्रवासमा ठूलो कौतुहलता जन्माएको थियो- के लेख्नु हुन्छ भनेर। अबको बाटो के हुनेरु
“मेरो बोल्ने मुखलाई न थुन, नयाँ नेपालको अभिव्यक्ति दिनेछ मेरो मुखले।”
“मेरो कलमलाई न समाऊ, नयाँ नेपालको मार्गचित्र कोर्ने छ मेरो कलमले।”
”मेरो हिडने गोडाहरूलाई न छेक, नयाँ नेपालको बाटो पहिल्याउने छ मेरा गोडाहरूले।”
राजनीतिक दलको स्वतन्त्रता र बहुदलीय संसदीय व्यवस्थाको आवश्यक्ता अपरिहार्य हो भने कुराको सरस अभिव्यक्ति दिने यी पंक्तिहरूका साथ सम्पादकीय लेखी प्रकाशित भएको “तरूण”ले एकै पटक पुरै देशका तन्नेरी युवाहरूलाई स्पन्दित गरेको थियो।
दिग्भ्रमितता हटेको थियो। यसबाट नेकामा राजासँग सम्झौताको लाइन कमजोर हुन गयो। हजारौँ मानिसहरू जेलमा कोचिएका थिए।
लामो जेल बसाइलाई निरूद्देश्य ठान्न लागेका तेस बेला जेलहरूमा रहेका नेता, कार्यकर्ताहरूमा एक्कासी आफूहरू निश्चित उद्देश्यका लागि थुना परेको र अझै लामो समयसम्म झ्यालखानामा रहनु परे पनि रहने उत्साह जागेर आएको थियो।
वास्तवमा सूवर्णजी स्वयं र उहाँका साथमा रहेका नेता कार्यकर्ताहरू पनि व्यवस्था परिवर्तनका लागि उत्तिकै प्रतिबद्ध हुनुहुन्थ्यो। तर, दुई शीर्षस्थ नेताबीचको स्पष्टता सबैले चाहेका थिए।
ती दिनलाई सम्झेर चक्रजीले मलाई भन्नु भाथ्यो- “बुझ्यौ ! केही पंक्तिहरूको ती लेखाईले त मरेको मुर्दाहरूमा पनि साँस जगाई दिएको थियो।
वास्तवमा ती पंक्तिहरू मात्र थिएनन्ने-पाली कांग्रेसको नेपाली समाजका बारेमा प्रतिबद्धता तथा परिवर्तनका सपना पो झल्किएको थियो बीपीको लेखाईबाट१” चक्रजीको मान्यता थियो, बीपीले नेपाली कांग्रेसको परम्परागत धारणाहरूमा फेरि पनि प्रतिबद्धता जनाउनु भयो।
राजासँगको सहयोगको वातावरण बनाउदै जाने सोच क्रमशस् मत्थर भएर गयो।
राजनीतिमा अडान भनेकै सुस्पष्ट यात्रको शुभारम्भ हो।
राजनीतिमा सपना भनेकै परिवर्तनका कार्यक्रमहरू हुन्छ। अग्रगामी परिवर्तनका ! बृद्ध बाबुले आफूले रोपेको बाली भित्र्याउन नपाउँदै परलोक गएको खण्डमा छोराले ती बाली घर भित्र्याउनुलाई राजनीतिक अर्थमा सपना पुरा गरिएको मानिँदैन।
राजनीतिका सपना भनेको सदैव यथास्थितिलाई वास्तविक परिवर्तनमा रूपान्तरित गर्नु हो।
गिरिजाप्रसाद कोइराला वि. सं. २०३७ को जनमत संग्रहपछि नेपाली राजनीतिमा सर्वथा गलत अध्ययन गरिएको व्यक्ति पनि हो।
राजा वीरेन्द्रले “म पनि विकल्प खोज्छु, तिमी पनि खोज” भनेको कुरालाई गिरिजाप्रसाद सुस्तरी दरबारको धारमा गयो भनि योजनाबद्ध चर्चा गरियो।
वि. सं. ०४२ को सत्याग्रह हुनु पूर्वजनजीविकाको समस्याहरूलाई आधार मानेर राजा समक्ष पेश गर्न आम जनताको हस्ताक्षर संकलन गर्ने उहाँको अग्रसरतालाई “प्रजातन्त्रको भीख माग्न कोइरालाको विन्तिपत्रे राजनीति” भनियो। यस्ता घटनाहरूको स्मरण लामै हुन्छ।
शाही सत्ताकालमा संसदको पुनर्स्थापनको कोइरालाको अडानलाई अधिकांशले अभेद्य पर्वत उपरको प्रहार भनेको हामीले बिर्सेका छैनौँ।
जीवनको अन्तिम कालमा पनि उहाँलाई राष्ट्रपति पदको लोभी नै भनियो।
तर, २०४६ चैत्रमा यदि गणेशमान सिंहको अडान नरहेको भए तेस बेला संसदीय व्यवस्था आउने थिएन, यसरी नै संसद पुनर्स्थापनको मागमा गिरिजाप्रसाद कोइरालाको अविचलित अडान नरहेको भए शायद राजनीतिको मोड अन्यत्रै मोडिने थियो होला।
आज यो तथ्य धेरैलाई अपत्यार लाग्न सक्छ कि गिरिजाप्रसाद कोइरालाले योजना मिलाएरै मुलुकमा गणतन्त्रको घोषणा गराउनु भएको हो।
यो उहाँको अभीष्ट थियो। शाही सत्ताको समयमा दरबारमा आयोजित एक बैठकमा राजा ज्ञानेन्द्रले बद्री मण्डलबाट उहाँको बेइज्जत गराए पश्चात साँझपख उहाँको अपमानबोधलाई आफ्नै आँखाले देख्नेहरू ठम्याउनेहरूले मात्र त्यसको गूढ थाहा पाउन सक्छ।
नभएको गणतन्त्रको एजेण्डा कहाँबाट आयो भनी सात दलको सात सूत्रीय समझदारीमा आँखा घोत्ल्याउनेहरूले यो थाहा पाउन सक्दैन।
श्री ३ को शासनकालमा त्रिपुरेश्वर धर्मशालाबाट गुन्द्रीमा राखिएको पिताजी कृष्णप्रसाद कोइरालाको मृत देहलाई तानेर निकाल्नु परेको दिन गिरिजाप्रसाद कोइरालाको मनमा उठेको एक प्रश्न कि श्री ३ के अर्थमा राजा होइन ? र, प्रजातन्त्र स्थापनाको लामो संघर्षमा धेरै मानिसहरूको राजाको निर्देशनमा नृशंसतापूर्वक हत्या गरिँदा श्री ५ हरू के चरित्रगत तथा आधारभूत फरकले श्री ३ होइनन् ? दह्रो गरी गिरिजाबाबुको मनमा घर बनाएर बसेको यस प्रश्नको जवाफ गणतन्त्रको घोषणा गर्न लगाएर उहाँले पाउनु भएको थियो।
प्रतिक्रिया