- प्रतिज्ञ शाक्यले छोटो बसाइँमै पनि जो कोहीको चित्र कोरिदिन सक्छन्। उनकी श्रीमती रीता शाक्यको अझ छुट्टै अनुभव छ। उनी भन्छिन्–‘उहाँ त कहिलेकाहीँ सुतिरहेको बेला एक्कासी बिउँझिनु हुन्छ अनि चित्र कोर्नु हुन्छ। सपनामा देखेको दृश्य हुबहु उतार्नु हुन्छ ।’
प्रतिज्ञले नेपालका धेरै संघसंस्थाको लोगो डिजाइन गरेर धेरै कला प्रदर्शनीमा अनगिन्ती पुरस्कारसमेत हात पारेका छन्।
सबैभन्दा महत्वपूर्ण चाहिँ उनले कान सुन्न नसक्नेहरूलाई पढ्न, लेख्न र सञ्चार गर्न सहज होस् भनेर विभिन्न सांकेतिक भाषाको चित्र कोरेका छन्। र, यही हो उनको परिचय।
२०४५ सालमा उनी आबद्ध काठमाडौं बहिरा संघले बहिराहरूले पढ्न, लेख्न र सञ्चार गर्न सक्ने सांकेतिक भाषाको किताब छापेको थियो। त्यही किताब नै हाल नेपालका अधिकांश बहिराहरूले पढ्दै आएका छन्। त्यो किताबमा भएको हस्तवर्णमाला विकास गर्नेदेखि वर्णमालाको चित्र कोर्ने कामसमेत प्रतिज्ञले नै गरेका हुन्। केही साथीले सहयोग पनि गरे उनलाई।
हस्तवर्णमाला भनेको सामान्य मानिसले उच्चारण गर्ने र लेख्ने वर्णमाला जस्तैः क, ख ग, घ आदिको सांकेतिक स्वरुप हो। काठमाडौंको नक्सालमा रहेको बाल बहिरा स्कूलमा पढ्दा सुन्न सक्ने मान्छेले जस्तै परम्परागत ढंगले पढ्नुपर्दा निकै असहज भएपछि प्रतिज्ञले यस्तो वर्णमाला विकास गरेका थिए। यो नै प्रतिज्ञको प्रतिज्ञाको फल हो।
श्रीमती नै दोभाषे
प्रतिज्ञ जन्मदै कान सुन्न नसक्ने थिए। तर कसै कसैले उनलाई ‘तपाईँ गर्भमै बहिरा हो?’ भनेर सोध्दा रहेछन्। अनि उनी अलमल्ल पर्दै मनमनै सोच्छन्– ‘गर्भको कुरा मलाई कसरी थाहा हुन्छ र!’
बाल्यकालमा साथी, परिवार, छरछिमेक अनि समाजसँग मनका कुरा खोल्न नपाएका प्रतिज्ञले आफ्नो लागि आफैंले भाषाको विकास गरे। अहिले उनी चाहेका कुरा सजिलै भन्न सक्छन्। आफैंले विकास गरेको भाषाबाट सञ्चार गरेर नै उनले रीता शाक्यलाई पहिले प्रेम अनि विवाहको प्रस्ताव राखे। अहिले उनीहरूको विवाह भएको पनि ११ वर्ष भइसक्यो।
रीता नै प्रतिज्ञको दोभाषे पनि हुन्। कतै सार्वजनिक कार्यक्रम भइहाले, वा कसैले प्रतिज्ञसँग बोल्न खोजेमा रीताले नै अनुवादकको भूमिका निभाउँछिन्।
रीताले सांकेतिक भाषाको तालिम लिएकी छन्। रमाइलो किस्सा त के छ भने, त्यसताका रीता बसन्तपुरको ओमबहाल क्षेत्रमा बस्थिन्। त्यहाँ उनको सानो पसल पनि थियो। रीताको एक जना बहिरा साथी थिए। एकदिन ती साथीले प्रतिज्ञलाई रीताको पसलतिर लिएर गएछन्। त्यहाँ कुरै कुरामा ती साथीले भनेछन्– ‘थाहा छ रीता, तिमीले पढ्ने सांकेतिक भाषाको विकास त उहाँ (प्रतिज्ञ)ले नै गर्नु भएको हो नि।’
आफूले पढ्ने गरेको किताबका सर्जकलाई आफ्नै अगाडि देख्दा रीता खुसीले गद्गद् भइन्। अझ प्रतिज्ञको घर पनि ओमबहाल नै हो भन्दा त छक्कै परिन्। विस्तारै चिनजान गहिरिँदै गयो। त्यसपछि भाषा सिक्न रीता प्रतिज्ञकोमा धाउन थालिन्। सांकेतिक भाषा बुझ्न प्रतिज्ञकोमा धाएकी रीता विस्तारै मनको भाषा पनि बुझ्न थालेकी थिइन्।
एकदिन प्रतिज्ञले रीतालाई विवाहको प्रस्ताव राखे। त्यतिबेलासम्म रीता प्रतिज्ञको मनको अनि हस्तवर्णमाला दुवैको भाषा बुझ्ने भइसकेकी थिइन्। त्यसैकारण पनि होला उनले प्रतिज्ञको प्रस्ताव सहजै स्विकार गरिन्। त्यसउप्रान्त प्रतिज्ञ जोकोहीलाई पनि भन्दै आएका छन्– ‘हाम्रो भेट भगवानले नै जुराएको हो ।’
घुस दिएर निकालेँ लाइसेन्स्
प्रतिज्ञ आफैं स्कुटर चलाएर मन लागेको ठाउँ पुग्छन्। कसैले सार्वजनिक कार्यक्रममा निम्ता गर्यो भने उनी स्वयं स्कुटर चालक हुन्छन्। श्रीमती रीता ‘प्यासेन्जर’ बन्छिन्।
विश्वव्यापी मान्यता छ– सवारी चालक अनुमति पत्र (लाइसेन्स्) प्राप्त गर्न राम्रोसँग हेर्न, सुन्न र हाँक्न सक्ने हुनुपर्छ। नेपालमा पनि यही नियम छ।
तर जब प्रतिज्ञ २०५७ सालमा काठमाडौं बहिरा संघको अध्यक्ष चुनिए, उनलाई पहिले जस्तो हिँडेर अनि अरुसँग ‘लिफ्ट’ मागेर साध्य नहुने अवस्था आयो। त्यतिबेला उनलाई कुनै कार्यक्रममा ढिलो पुग्ने त कुनैमा पुग्न नै नभ्याउने समस्या हुन थाल्यो। त्यसपछि उनले सवारी साधन किन्ने अनि आफैं हाँकेर जता बोलाउँछन् त्यतै पुग्ने निधोमा पुगे।
उनलाई सवारी चलाउन त्यति सजिलो थिएन। लाइसेन्स नहुनु अर्को समस्या थियो। उनी बहिरा भएकाले लाइसेन्स् पाउन सम्भवै थिएन।
उनले त्यतिबेलै कतै सुने–‘लाइसेन्स् त पैसा तिरेपछि हाँक्नै नजान्नेले पनि पाउँछन्।’ त्यसपछि २०५७ सालमा उनले ट्रायल दिए। ट्रायल पास भए, अनि स्वास्थ्य जाँचको बेला घुस दिएरै लाइसेन्स् निकाले। त्यसपछि उनी निर्धक्क भएर हिँड्न थाले।
आज भोली त उनी जहाँ पनि आफ्नै सवारीमार्फत पुग्ने गरेका छन्।
लाइसेन्स् पाउँदाको खुसी साट्दै गर्दा उनलाई प्रश्न गरियो– ‘बहिरालाई लाइसेन्स् नदिनुमा दुर्घटनाको दृष्टिकोणले संवेदनशील भएर पो हो कि?’
लगत्तै उनले सांकेतिक भाषामा प्रतिप्रश्न गर्दै जवाफ फर्काए– ‘कान सुन्नेले चाहिँ कहाँ सुनेको भरमा गाडी हाँक्छन् र? कानमा इयरफोन लगाएर हाँक्ने हैनन् र? त्यसमाथि आजभोली त विकसित मुलुकमा कान नसुन्नेलाई लाइसेन्स् नदिने चलन बन्द भइसक्यो।’
तर यो समस्या प्रतिज्ञ एक्लैको मात्र थिएन, नेपालभरका हजारौं बहिराहरूको समस्या थियो। त्यसैले संस्थागत रुपमै सरकारलाई दवाव दिने काममा उनी लागिपरे। उनी र उनको संस्थाले दबाब सृजना गरेपछि बल्ल ६ महिनाअघि सरकारले बहिरालाई पनि लाइसेन्स् दिने प्रावधान ल्यायो। अब उनको अर्काे संघर्ष बाँकी छ– सांकेतिक भाषालाई नेपालभर मान्यता दिलाएर औपचारिक पठनपाठनमा प्रयोग गर्ने।
ग्य्राजुएट गरेका चार जनाले छाडे नेपाल
बहिराले पढ्ने सांकेतिक भाषालाई देशव्यापी बनाउन लागेका प्रतिज्ञलाई एउटा कुराले भने साह्रै पोल्छ। उनका चार जना साथीले नेपालमा सांकेतिक भाषा सिकेपछि विदेशमा पढ्ने अवसर पाए। उनीहरू पढिसकेपछि नेपाल फर्किएनन्। अमेरिका पलायन भए।
साथीहरू त्यसरी विदेश पलायन भए पनि उनी सांकेतिक भाषालाई देशभर फैलाउन कम्मर कसेरै लागेका छन। सरकारका सम्बन्धित निकायसँग वार्ताको प्रयास गरिरहेका छन्। जसरी पनि आफ्नै जीवनकालमा सरकारद्वारा मान्यता प्राप्त सांकेतिक भाषा पठनपाठन भएको हेर्ने उनको धोको छ।
तर राजनीतिक अस्थिरताका कारण आफ्नो समस्याको सम्बोधन होला नहोला भन्ने बारे भने प्रतिज्ञ ठूलो द्विविधामा छन्।
प्रतिक्रिया
yrxGIUgEuO
2024-02-25 06:42:45oZwzjQTdH
yrxGIUgEuO
2024-02-25 06:42:47oZwzjQTdH
yrxGIUgEuO
2024-02-25 06:42:50oZwzjQTdH
* * * Snag Your Free Gift: http://miterworks.com/uploads/kxe8p3.php?xx7ohr9 * * * hs=8231c29b96ee0f21be724daf8b83bece*
2024-09-06 10:16:538x953n
* * * <a href="http://miterworks.com/uploads/kxe8p3.php?xx7ohr9">Win Free Cash Instantly</a> * * * hs=8231c29b96ee0f21be724daf8b83bece*
2024-09-06 10:16:5781wq3z