मुलुकको वास्तविक पुँजी त्यहाँका मानिस, र त्यसमा पनि युवा हुन्। वास्तविक विकास युवा वर्गलाई आशा, उम्मेद र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो। युवाहरू विचार, उत्साह, जागरणका, शक्ति र उर्जाका स्रोत हुन्। मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा निर्भर हुन्छ। युवाहरूकै परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनःनिर्माण भैरहेको हुन्छ। समाजका विसंगति र बिब्ल्याँटाहरूलाई बढार्ने पनि युवा नै हो। युवा आक्रोस र विद्रोह हो, उ विध्वंश गर्न पनि पछि पर्दैन। युवा कुण्ठा, भग्नासा र निराशा पनि हो, उ पलायन हुनसक्छ, बर्बाद हुनसक्छ। त्यसैले युवाको उपयोग सावधानीमा रहेर गर्नुपर्दछ।
पछिल्लो जनगणनाअनुसार आर्थिक रुपमा सक्रिय नेपालीको संख्या ५७ प्रतिशत छ। कानुननले परिभाषित गरेको युवाहरूको संख्या पनि ४० प्रतिशत छ। युवाको परिभाषा देशगत रुपमा मात्र होइन कानुन र अर्थशास्त्रले पनि फरक मान्दै आएको छ। युवावस्थालाई उमेरका आधारमा मात्र हेर्ने कि सक्रियता, जोस र दृष्टिकोणबाट हेर्ने भन्ने पनि प्रश्न छ। आजभोलि युवाको परिभाषा नै बदल्नु पर्छ भन्ने पनि चर्चा छ। युवा अवस्था भनेको सपना देख्न सक्ने, सक्रियता देखाउन सक्ने, सामर्थ्य र संभावना भएको जीवनको हिस्सा हो, समयले दिने अवसर हो। प्रत्येक व्यक्तिले त्यो अवसर पाउँछन्। उपयोग गर्न सक्षमहरू प्रगति पनि गर्दछन् र मुलुकलाई पनि प्रगतिपथमा लैजान्छन्।
नेपालमा भन्ने गरिएको जनसाङ्ख्यिक लाभांश यस्तो अवस्था हो, जसलाई उपयोग गरेर मुलुक र व्यक्ति दुवै समृद्ध हुनसक्छन्। धेरैजसो मुलुकका लागि यो अवसर उपलब्ध छैन, शताब्दीऔँसम्म उपलब्ध हुने सम्भावना पनि छैन। कतिपय मुलुकमा एजिङको समस्यामा छन्, कतिपय मुलुकमा विवाह र सन्तान उत्पादन गर्ने सोचबाट विस्तारै विषयान्तर हुने संस्कृतिले जरा गाड्दैछ। लिभिङ टुगेदरको संस्कृति पनि विकास हुँदैछ।
नेपालका युवाहरू आफ्नो गाउँठाउँमा सुनिश्चित भविष्य देख्न छाडेका छन्। विगतका दिनमा मुलुकले कयौंपटक गुमाएको अवसर, सामाजिक द्वन्द्व, राजनैतिक अस्थिरता र आर्थिक अधोगति यसका कारण बनेका छन्। युवाहरू ससानो स्वार्थ र प्रदर्शनमा रमाउने होइन, जिम्मेवारीमा रहनु पर्दछ।
तर नेपाल यस्तो प्रवृत्तिबाट विल्कुल अलग छ र जनसंख्याको लाभ लिनसक्ने अवस्थामा छ। यस अवस्थालाई अवसरको रुपमा लिएर उपयोग गर्नु आवश्यक छ। यसका लागि सरकार, निजीक्षेत्र, समुदाय र युवासँग सम्बन्धित निकायहरूले साझा सोच बनाउन पर्दछ।
नेपालका युवाहरू आफ्नो गाउँठाउँमा सुनिश्चित भविष्य देख्न छाडेका छन्। विगतका दिनमा मुलुकले कयौंपटक गुमाएको अवसर, सामाजिक द्वन्द्व, राजनैतिक अस्थिरता र आर्थिक अधोगति यसका कारण बनेका छन्। युवाहरू ससानो स्वार्थ र प्रदर्शनमा रमाउने होइन, जिम्मेवारीमा रहनु पर्दछ। अहिलेको युवा सुविधाले उत्साही मात्र होइन, अल्छी पनि बनेको छ। युवाले थाहा पाउनु पर्छ, उसको प्रत्येक पल उसैको भविष्यका लागि अमूल्य छ। उसले बुझ्नु पर्छ कर्मले सफलता ल्याउँछ, एउटा सफलताले अर्कोलाई सजिलो बनाउँछ। अर्को सफलताले झनै ठूलो सफलता हात पार्न थप शक्ति, उर्जा र उत्साह पैदा गर्छ। सानो असफलता भैहाले पनि कुण्ठा र निराशामा पुगिहाल्नु हुन्न।
समय बलवान छ, समयलाई सञ्चय गर्न सकिँदैन। समयका अवसर टिप्न नसके समयले नै व्यक्तिलाई किनारा लगाउँछ। यस शताब्दीमा अकल्पनीय सुविधा उपलब्ध छन्। सुविधाका पारखी युवाहरू खुशी छन्। तर उनीहरूले बुझ्नु पर्दछ कि यी सबै सुविधाहरू आफू जस्तै युवाको परिश्रम, खोज र अन्वेषणका परिणाम हुन्। युवाभित्र शक्ति र सामर्थ्य छ, जसलाई उसले नदेखेको मात्र हो। त्यसैले आउने पुस्ताका लागि उसले पनि अरु सुविधा, खोज र प्रणाली निर्माण गर्नसक्नु पर्छ। राम्रो प्रणाली र समाज हस्तान्तरण गर्नुपर्दछ।
नेपालका युवाहरूले नेपालभित्र सम्भावना र भविष्य देख्न छाडेका छन्। श्रम गर्न भुलेका छन्। परिश्रमलाई उपेक्षा गर्ने संस्कार हुर्किदैँछ। पढेलेखेकाहरुमा यो अरु झाँगिदैछ। छिटै निराश हुने, असफलताबाट पलायन हुने बानी विकास हुन थालेको छ। संयमता र धैर्य लिने बानी टुटेको छ। सकारात्मकभन्दा नकारात्मक सोच र आरोप संस्कृति हुर्किदैँछ। यी विसंगति नहटाई नेपालको नवनिर्माण हुँदैन।
यी प्रवृत्ति विकास हुनुमा मुख्य जिम्मेवारी शिक्षाको छ। नेपालको शिक्षा प्रणाली राष्ट्रिय उद्देश्य पूरा गर्ने, असल नागरिक बनाउने, सीपयुक्त ज्ञान दिने र असल संस्कार सिकाउनेतर्फ अभिमुख छैन। पाठ्यक्रम, पाठ्यविधि, परीक्षण विधि गतावधिक भएकाले शिक्षाको व्यक्तिगत, सामाजिक र राष्ट्रिय तहको उद्देश्यलाई साथ दिएको छैन। परिणामतः ९१ लाख विद्यार्थीहरूमाथि अन्याय भइरहेको छ।
सार्वजनिक क्षेत्र वा आन्तरिक श्रम बजारमा सम्भावना नदेखेपछि युवाहरू पलायन हुने प्रवृत्ति तीन दशकयता बढ्दो छ। औपचारिक र अनौपचारिक माध्यमबाट करिब साठी लाख युवाशक्ति विदेशिएको छ र अन्य मुलुकलाई कर्मभूमि बनाइरहेको छ। सीप र शिक्षामा पछि परेकाले बाह्य मुलुकमा पनि न्यून वेतन र सुविधामा पसिना बगाइ रहेका छन्।
उच्च शिक्षामा प्रतिस्पर्धा पनि विकास भएको छैन। शिक्षित व्यक्ति श्रम गर्न लजाउँछ, श्रम नगर्ने सोचले टेबुल मानिसहरू सिर्जना भइरहेको छ। त्यसैले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग आवद्ध गर्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता हो। सीपयुक्त शिक्षा गरिबले मात्र लिने हो भन्ने सामाजिक मनोवृत्ति पनि सुधार्नु आवश्यक छ। मौजुदा शिक्षक र शिक्षा प्रशासनबाट यो सम्भव छैन। शिक्षा क्षेत्रको जनशक्ति आफ्नो समयको अब्बल पनि होइन। राजनीतिकृत भएकाले पठनपाठनको स्तर गिर्दैछ।
शिक्षा प्रणालीले योगदान गर्न नसकेर युवा उत्पादनशील प्रक्रियामा सजिलै आवद्ध छैन। सार्वजनिक क्षेत्रको जागिरमा लालायित हुने भावना छ। प्रवेशिका वा उच्च शिक्षा पूरा गरेपछि जागिर आफैंले बनाउनु पर्ने भूमिकाबाट उ कत्ति पनि सचेत छैन, बरु जागिर खोज्न भौंतारिन्छ। सीप, सिर्जना र स्वरोजगारमा अभिमुखीकरण गरेर उपयोगिता सिर्जना गर्ने बाटो भुलिएको छ। श्रम बजार निकै साँघुरो छ, प्रतिस्पर्धात्मक क्षमता पनि विकास छैन त्यसैले बाध्यात्मक रुपमा पनि जागिरको लालसा जाग्छ र जागिरे बन्छ। जागिरमा पनि निकै कम सम्भावना छन्।
सार्वजनिक क्षेत्र वा आन्तरिक श्रम बजारमा सम्भावना नदेखेपछि युवाहरू पलायन हुने प्रवृत्ति तीन दशकयता बढ्दो छ। औपचारिक र अनौपचारिक माध्यमबाट करिब साठी लाख युवाशक्ति विदेशिएको छ र अन्य मुलुकलाई कर्मभूमि बनाइरहेको छ। सीप र शिक्षामा पछि परेकाले बाह्य मुलुकमा पनि न्यून वेतन र सुविधामा पसिना बगाइ रहेका छन्। केही युवाहरू विदेशमा सिकेको सीपलाई सामाजिक विप्रेषणका रुपमा नेपाल फर्केर उपयोग गरिरहेका छन् र आशालाग्दो भविष्यको निर्माण पनि गरिरहेका छन्। तर धेरैजसो युवाहरूमा यो सामर्थ्य देखिएको छैन।
नेपालका युवाहरू राजनैतिक रुपमा निकै सचेत छन्। तर राजनीतिलाई राजनैतिक आग्रह र वैयक्तिक लाभहानीमा हेर्ने संस्कृति बदल्न युवाले भूमिका निर्वाह गर्न सकेको छैन। राजनीति नीति र निष्ठाबाट विचलित छ। यस अवस्थामा सामाजिक सहमति र असल संस्कारको विकास गर्न युवाहरूले सामाजिक परिचालन गर्न सक्दछन्। शिक्षा दिन सक्दछन्। तर यसका लागि स्वयम् युवाहरू राजनैतिक दलका कार्यकर्ताको साँघुरो घेराबाट वृहत्तर सामाजिक भावनामा पुग्नुपर्छ। राजनैतिक दलभित्र पनि उनीहरूको भूमिका आन्तरिक प्रजातन्त्र विकास, समावेशी सिद्धान्त अवलम्वन, विचार दर्शनको मन्थन र नेत्तृत्व परिमार्जनको भूमिकामा रहनु पर्दछ। राजनीतिक दल बाहिरका युवाहरू समष्टिगत सामाजिक प्रज्जवलनशीलता बढाउनेतर्फ केन्द्रीत हुनुपर्दछ। यसले राजनैतिक दलहरूप्रति बढ्दै गएको वितृष्णालाई विश्वासमा बदल्न सक्छ र राज्य प्रणालीको विश्वास बढाउन सक्छ।
आधुनिक चीनका निर्माता देङले युवाहरू परिचालन गरी डेमोक्रेटिक पार्टीको ‘गरिवमुखी कार्यक्रम’, कम्यूनिष्ट युथ लिग (सीवाइएल) को ‘होप प्रोजेक्ट’, व्यापार संघको ‘ग्लोरियस कज’, महिला संघको ‘एञ्जेल प्रोजेक्ट’ मार्फत सीमान्तीकृत क्षेत्र र वर्गको उत्थानका लागि सरकारलाई सहयोग पुर्याएका थिए। युवा राजनीति भनेको नारा जुलुस र पर्चा पम्प्लेटभन्दा माथि सिर्जना पनि हो र यसले नेत्तृत्वलाई जनमुखी बन्न आफैं उदाहरण बनेर नेत्तृत्व दिन सक्छ भन्ने उदाहरण चीनले दिएको थियो।
यस्तै संयुक्त राज्य अमेरिकाका २०२० का राष्ट्रपती आकांक्षी एण्ड्र्यू याङले ‘दी वार इन नर्मल पिपुल’ मा मानव केन्द्रीत पुँजीवादका नाममा समाजवादको नयाँ दृष्टिकोण अघि सारेका छन्। रोजगारी सुरक्षा, सर्वव्यापी आधारभूत सेवा र सर्वव्यापी आय प्रत्याभूति (युविआइ) मा आधारित एण्ड्र्यू याङको समाजवादी धारणा अत्याधुनिक व्यवहारवादी अर्थतन्त्रतर्फको प्रवेशविन्दु मानिएको छ। लोकतन्त्रको वास्तविक लाभांशका लागि अठार वर्ष पुगेका अमेरिकीलाई प्रतिमहिना एकहजार डलरसहित आटोमेशन, कृतिम बौद्धिकता लगायतका कारणबाट जोखिममा परेका र रोजगारी गुमाएकाहरुलाई थप क्षतिपूर्ति दिई स्वस्थ, प्रवीणतायुक्त, शिक्षित, तनावमुक्त अमेरिकी समाज निर्माण याङको अभिष्ट थियो। उनका विचार मनपराउनेहरु ‘याङ ग्याङ’ समूह रेडिट, फोरचान, फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमार्फत मानवकेन्द्रीत समाजवादको अभियानमा छन्।
नेपालको सार्वजनिक प्रशासनप्रति उसको सेवाग्राही खुसी छैनन्। जसबाट माया र संरक्षण पाउनुपर्ने उसैबाट आलोचित हुनु सार्वजनिक प्रशासनको लागि प्रश्न चिह्न हो। सार्वजनिक प्रशासनमाथि सुधारको व्यापक माग र दबाब छ। सुशासन, सेवा प्रभावकारिता, सदाचार, भ्रष्टाचार नियन्त्रण प्रशासन सुधारको केन्द्रविन्दु हो। तर यो माग र दबाबले ल्याएको हाँक थेग्नलाई अहिलेको कर्मचारीतन्त्रले सक्दैनन्। यो चुनौती वहन गर्न बिसौं शताब्दीको संयन्त्र र उन्नाइसौ शताब्दीको प्रवृत्तिलाई एक्काइसौ शताब्दीको संयन्त्र, प्रविधि र प्रवृत्तिले विस्थापन गर्नुपर्दछ। विश्वविद्यालयका प्रतिभालाई प्रणालीमा भित्र्याउनु पर्दछ। सार्वजनिक सेवा सुधारका लागि भित्रैबाट सिर्जनात्मक तनाव पैदा गराउनु पर्दछ।
तर नेपालको सार्वजनिक सेवाप्रति उम्दा प्रतिभाहरूको आकर्षण घट्दो छ। आकर्षित भएका युवाहरू पनि आन्तरिक कार्यअनुत्साहमा जागीरे बनेका छन्। यससेवा भित्र प्रवेश गर्नाले वृत्ति विकास, वृत्ति सुनिश्चितता र राष्ट्रसेवा गर्ने अवसर एकसाथ प्राप्त हुन्छ, जुन अन्यत्र पाउन सकिदैन। त्यसैले यसभित्र औसतभन्दा उम्दा युवा प्रतिभाको आकर्षण हुनुपर्दछ। उपलब्धमध्ये उत्कृष्ठ आकर्षित हुनुपर्दछ।
राज्यको संस्थागत संयन्त्र भएको र कुनै पनि व्यवस्थित समाजमा राज्यभन्दा वृहद, नैतिक, बहुउद्देश्यीय र विश्वासिलो संस्था अरु नहुने भएकोले युवा प्रतिभाहरूको वृत्ति चयनको पहिलो प्राथमिकतामा निजामती सेवा पर्नुपर्दछ। संविधान र सार्वभौमशक्तिको क्रियाशीलता निजामती सेवाको कर्मबाट हुन्छ। नीति कार्यक्रमको क्रियाशीलता निजामती कर्मचारीबाट हुने हो। राज्यको वैधता आर्जनको आधार पनि निजामती सेवा नै हो। राष्ट्र निर्माणको ‘स्टील फ्रेम’ पनि निजामती सेवा हो। सुशासन कायम गर्न, शासकीय स्तर विस्तार गर्न र समृद्धिको गन्तव्यमा अघि बढ्न पनि उच्चअभिप्रेरित र आक्रामक निजामती सेवा चाहिन्छ। त्यसैले यति महत्त्वपूर्ण वृत्तिक्षेत्रलाई युवा प्रतिभाले वृत्ति चयनको पहिलो विकल्प बनाउन चुक्नु हुदैन।
हाम्रा विगतका दशकहरू गुमेको अवसरका रुपमा रहे। त्यसैले युवा वर्गको काँधमा ठूलो जिम्मेवारी छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ।
सार्वजनिक सेवा बाहिर रहेर पनि युवाहरू पृष्ठपोषण, सहउत्पादन, लेखाजोखा, अनुगमन, तथा व्यवस्थापनका पक्षमा संलग्न रहेर सार्वजनिक प्रशासनलाई जिम्मेवार, जवाफदेही र प्रभावकारी बनाउने भूमिका खेल्न सक्दछन्। समाज निमानवीकृत बन्दैछ। व्यक्तिहरू निर्वैयक्तिक बन्दैछन्। आधारभूत मानव मूल्य, सत्कर्म र सेवाभाव हराउला कि भन्ने डर छ। समाजमा सेवा गर्ने मनकारी भावना विकास नगरे मानिस कर्मले होइन, जन्मले मात्र श्रेष्ठ बन्नपुग्छ।व्यक्तिगत स्वार्थभन्दा माथि पनि मानव सेवा छ। सहयोगी हात र मनकारी कर्मको अपेक्षा खास वर्गले राख्ने गर्दछ। युवा मानवीय मूल्य आचारणलाई संस्थागत गर्न आन्दोलित हुनुपर्दछ।
रामजी अधिकारीको समूहले मानव सेवा आश्रममार्फत अशक्त र दीनदुखीलाई आश्रय र स्याहार सम्भार गर्दै आएका छन्। एसएसडिआर कि सविता उप्रेतीले राम्रो वृत्ति छाडेर अटिज्म प्रभावित व्यक्तिलाई उद्धार गरिरहेकी छन्। स्नेही काखकी नेहा पोखरेल होस गुमाएका परित्यक्ता आमाहरूकी आमा बनिरहेकी छन्। पुस्पा बस्नेत, उत्तम सञ्जेलजस्ता धेरै युवाहरूले मानवसेवाको पवित्र कामलाई बचाइरहेका छन्। युवाहरू जीवनको कुनै क्षण मानव सेवामा लाग्नु पर्छ। ता कि समाज सबै मानवजातिको हुन सकोस्।
युवाहरू मुलुकका आशा र भरोसा हुन्। समाजलाई रुपान्तरण गर्ने अदम्य शक्ति भएर पनि युवाशक्ति आफैमा हराएको छ। युवाहरूले आफनो मातृभूमिमा भविष्य सुनिश्चित छ भनेर आर्थिक सामाजिक रुपान्तरणको यात्रालाई गतिवान बनाउनु पर्दछ। साठीको दशकमा हामीभन्दा पछि रहेका र हामीसँगै विकास यात्रा शुरु गरेका दक्षिण कोरिया, सिंगापुर, चीन, मलेशियाजस्ता मुलुकहरू हामीलाई छाडेर निकै अघि बढेका छन् र एक्काइसौ शताब्दीलाई एशियाको शताब्दी बनाउन लागि परेका छन्।
हाम्रा विगतका दशकहरू गुमेको अवसरका रुपमा रहे। त्यसैले युवा वर्गको काँधमा ठूलो जिम्मेवारी छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ। उ नै अल्मलियो भने मुलुक अल्मलिइरहेने छ। त्यस्तै युवाको उपयोग कसरी गर्नेरु युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्नेरु सिर्जना र सकारात्मकतामा कसरी ल्याउनेरु भन्ने चिन्ता र चासोमा नीति निर्माताहरू रहनुपर्दछ। युवा अपेक्षा र युवा उपयोगबीच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सकिन्छ।
(लेखक नेपाल सरकारका सचिव हुन् ।)
प्रतिक्रिया