advertisement1

मर्यादा हराएको सामाजिक सञ्जाल

मर्यादा हराएको सामाजिक सञ्जाल

विज्ञान तथा प्रविधिको द्रुत विकासले पृथ्वी नै एउटा गाउँ जस्तै हुन पुगेको छ। जसलाई सामाजिक विज्ञानका ज्ञाता ‘ग्लोबल भिलेज’ भन्छन्। केही दशकयता विकसित विभिन्न सामाजिक सञ्जालले त झन् मानिसहरूलाई सानिध्यताको मोहनी नै लगाएका छन्। अत्यावश्यक सूचना, सञ्चार र मनोरञ्जनपूर्ण सञ्जालका रुपमा सामाजिक सञ्जाल बन्न पुगेको छ।

दिन प्रतिदिनको प्रयोग र उपयोगीताले यो मानिसको अभिन्न अंगका रुपमा स्थापित भएको छ। तर यस्ता प्रविधिको प्रयोग सँगै समाजमा दुरुपयोग पनि दिनानुदिन बढिरहेको छ। विशेषतः युवा पुस्तामा लोकप्रिय रहेका यस्ता सामाजिक सञ्जालको सही प्रयोगले उनीहरूको व्यक्तित्व विकास गरेको छ भने गलत प्रयोगले कुलत र दुुर्व्यसनीमा समेत धकेलिरहेको छ। समाजमा सहजता र सुविधा थपे पनि यसको जोखिम पनि उत्तिकै छ।

सामाजिक सञ्जालमार्फत् आफूलाई मन लागेको विषयमा तर्क, बहस गर्न पाइने मात्र होइन विभिन्न विषयको ज्ञान पनि प्राप्त गर्न सकिन्छ। तर पछिल्लो समय व्यक्तिगत कुराभन्दा कुण्ठा, आक्रोश र भद्दा प्रतिक्रिया पोख्ने माध्यमका रुपमा विकसित हुन थालेको छ ।

अर्कोतर्फ, बालबालिकामा पनि यस्ता सञ्जालको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव बढिरहेको छ। प्रहरीको साइबर व्युरोकाअनुसार अघिल्ला वर्षमा भन्दा बढी र फरक फरक प्रकारका घटनाहरू दर्ता भएका छन्। सामाजिक सञ्जालसम्बन्धी अपराध र ठगी पनि दिन प्रतिदिन बढ्दो छ।

सामाजिक सञ्जालबाटै अभियान्ताहरूले दिनदुखिको सहयोग र मानवअधिकारको रक्षासमेत गरेका छन् भने राजनीतिकर्मीहरूले तितो र अप्रिय आवेगपूर्ण वाणीहरूको सामनासमेत गर्नुपरेको छ। सामाजिक सञ्जाल र मिडियामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम सधैं विवादमा  हुन्छ। पछिल्लो समय डिजिटल मिडिया र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसका भिन्नभिन्न मत समाजका विभिन्न तहमा विभाजित देखिन्छ। आफूलाई मन पर्नेको गुणगान गाउने र नपर्नेको हदैसम्म अपाच्य र असभ्य शैलीमा गाली गलौज गर्नाले समाजको मर्यादा नै हराउँदै गएको छ। 
 
सामाजिक सञ्जालमार्फत् आफूलाई मन लागेको विषयमा तर्क, बहस गर्न पाइने मात्र होइन विभिन्न विषयको ज्ञान पनि प्राप्त गर्न सकिन्छ। तथापी, हिजो आज सामाजिक सञ्जालको प्रयोग गलत ढंगले बढी मात्रामा हुन थालेको पाइन्छ। सामाजिक सञ्जाल व्यक्तिगत जानकारी, सफलता, असफलता, दुःख, सुख, पीडा, कुण्ठा, आक्रोश आदि भद्दारूपमा पोख्ने माध्यमका रूपमा विकसित हुँदै गएको छ। व्यक्तिगत, पारिवारिक विवाद, सामूहिक आरोप प्रत्यारोप पनि बढेको छ। भर्चुअल सम्बन्धको शिकारले मानिसहरूबीचको सम्बन्धमा कतै नयाँ आयाम थपेको छ भने कतै विग्रहको स्थिति सिर्जना गरेको पनि छ। 

सामाजिक सञ्जालमा उपयोगी कुराहरूको उपेक्षा र हानिकारक विषयवस्तुको बाहुल्यता बढ्न थालेको छ। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा मौलाउँदै गएको नकारात्मक प्रवृत्ति र अमार्यादित संस्कार अत्यन्त चिन्ताजनक छ। प्रविधि आफैमा गलत होईन तर प्रयोगकर्ताको दुरासयपूर्ण मनसायका कारण मानिसका लागि अभिशाप हुने खतरा बढ्दो ।

सामाजिक सञ्जालमा देखिने अश्लील एवं छुद्र भाषा सभ्य समाजका लागि लज्जास्पद छ । शीघ्र लोकप्रिय हुने चाहले मानिसहरुमा मर्यादा हराउँदै छ ।  समाजशास्त्रीय कोणबाट हेर्दा यसले समाजलाई उन्नति र रुपान्तरणभन्दा पनि अधोगतितिर धकेल्ने निश्चित प्रायः छ । 

सस्तो लोकप्रियता र व्यक्तिगत अभीष्ट पूरा गर्न हानिकारक र भ्रमपूर्ण सूचनाको प्रयोग सामाजिक सञ्जालमा बढ्दै गएको छ ।  गलत मनसायले कसैको चरित्र हत्या गर्ने तथा आपत्तिजनक फोटाे वा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरी प्रतिशोध साँध्ने गरेका घटनामा तीव्र बृद्धि भइरहेको छ । 

सस्तो लोकप्रियता र व्यक्तिगत अभीष्ट पूरा गर्न हानिकारक र भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा राख्ने गर्छन्। गलत मनसाय भएका मानिसहरूले कसैको चरित्र हत्या गर्ने अभिप्रायले नक्कली अश्लील तस्वीर वा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रतिसोधपूर्ण कार्यहरू पनि धेरै हुन थालेका छन्। परापूर्वकालदेखि नै मर्यादित र शिष्ट मानिँदै आएको हाम्रो सामाजिक संस्कार, बोली वचन एवं आचरणमा यस्तो प्रवृत्तिले ह्रास हुँदै गएको पनि बताउँछ।

फेसबुक, ट्वीटर, युट्युब्, टिकटक जस्ता सामाजिक सञ्जालमा नक्कली खाता बनाइ अरूलाई गालीगलौच गर्ने, धम्की दिने वा अश्लील सामग्री पठाएर मानसिक याताना दिने कामसमेत भइरहेको छ। बिडम्बना नै भन्नुपर्छ यसप्रकारको गम्भीर अपराध गर्नेहरूलाई कारबाही कमजोर र पीडितलाई क्षतिपूर्ति ज्यादै न्यून छ। 

सामाजिक सञ्जालमार्फत कसैले कुनै विचार वा भावना व्यक्त गर्दा, कुनै सूचना वा  समाचारमा टिप्पणी गर्दा वा कुनै भिडियोमा प्रतिक्रिया जनाउँदा अत्यन्त अमार्यादित र निकृष्ट भाषा प्रयोग भएको पाइन्छ। कसैलाई कुनै समाचार वा विचारमा चित्त बुझेन वा कोही प्रति विमति भयो भने अत्यन्त असभ्य, अश्लील एवं अशीष्ट भाषामा दोषारोपण गर्ने क्रम बढ्दो छ।

राजनीतिकर्मीको भाषा शैलीका कारण पनि सामाजिक सञ्जालमा मर्यादित संस्थाहरू विवादबाट अछुतो छैनन्। आजभोलि सामाजिक सञ्जालको सहज पहुँच र प्रयोगले हरेक कुरा आवश्यक भन्दा बढी नै चर्चा हुँदै विवादको चरणसम्म पुगेका थुप्रै उदाहरण छन्।  

अनुसन्धान भन्छ – सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक विषयमा कयौँ गुणा बढी बहस, टिकाटिप्पणी, लाइक एवं सेयर हुने गर्छ। बिडम्बना त यो छ कि – यस्ता सामग्रीको सत्य तथ्य नबुझी, यसले पार्न सक्ने असरको कुनै हेक्का नराखी लाइक, सेयर वा प्रतिक्रिया दिन सबैलाई हतार हुन्छ। प्रविधिको ज्ञान र शिक्षाको कमि हुँदाहुँदै नियत बिना पनि मानिसहरू सामाजिक सञ्जालको मोहमा फसी अनेक समस्याको सामना गर्नुपरेको तितो यर्थाथ पनि छ।  

आधुनिक समाज खुल्ला समाज हो। संविधानले नै व्यवस्था गरेका नागरिकको स्वतन्त्रता, सुचना र सञ्चारको हक साथै मानव अधिकारको रक्षार्थ, शान्ति सुरक्षा र सभ्य समाज निर्माण गर्न, सुशासन कायम गर्न साथै हाम्रो पहिचान र मौलिकता जोगाई राख्नलाई यस्ता सञ्जालको नियमनको खाँचो छ। भविष्यमा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न समयमै यस्ता क्रियाकलापहरूमा नियमन आवश्यक छ। 

यसको भिन्नभिन्न कोणमा बहस हुन जरुरी छ। स्वतन्त्रताका नाममा यस्ता सञ्जालको दुरुपयोगले भावी पुस्ता र समाजलाई कता पु-याउँने हो भन्ने पनि चिन्ताको विषय छ। यसको नियमन गर्न नीतिगत सुधार, कानुन निर्माण र कार्यान्वयनको खाँचो छ। पछिल्लो समय विभिन्न देशले आफ्नो कानुन परिमार्जन गरी नागरिकको स्वतन्त्रताको रक्षा गर्दै कार्यान्वयनमा पनि ल्याएका  छन्। 

तर नेपालमा त्यस्ता कानुनको अपर्याप्त छलफल, सीमित सरोकारवाला निकायको स्वार्थका लागि मात्र उद्यत रहने र गृहकार्य विना नै नियमको मस्यौदा तयार पारी कार्यान्वयन गर्ने प्रवृत्तिले सामाजिक सञ्जालको प्रभावकारिता कम र आलोचना बढ्दै गएको छ।  आधुनिक मौलिक र मर्यादित समाजका लागि अमर्यादित, असभ्य व्यक्ति र समाजको नियमन र अनुगमन अत्यावश्यक छ। यसर्थ, स्वतन्त्रताको हकलाई सुनिश्चित गर्दै सबै नागरिकलाई कानुनको दायरामा ल्याउन र एकताको सुत्रमा बाँध्न नियमन आवश्यक छ भन्ने बहस शुरु गर्नुपर्ने समय आइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

प्रतिक्रिया