नेपालको राजनीतिक सरगर्मीसँगै यो साता सदाचार नेतृत्वको उज्वल भविष्यको एउटा तारा नेपाली समाजले गुमाउनु परेको छ । कोरोना सङ्क्रमणका कारण अल्पआयु मै मृत्युवरण गर्नुपरेका युवा नेता उज्वल थापाका निमित्त नेपाली समाजमा देखिएको सद्भावना र शुभेच्छाले सदाचार राजनीतिको आम नागरिकको अपेक्षाको प्रत्याभुती गराउँदछ । विगतमा उनले गरेका योगदान र वैकल्पिक राजनीति युवामा देखाएको नेतृत्वदायी भूमिकाको श्रेय नै, उनीप्रति देखिएको आजको सम्मान हो ।
समाज र राजनीति एक अर्कामा अन्योन्याश्रित छन् । सभ्य समाजको परिकल्पनाले सु–संस्कृत राजनीति अवलम्बन, अभ्यास गर्दछ । समाजको प्रत्युत्पादन नै राजनीति हो भने राजनीतिको रिफ्लेक्सन समाज हो । नेपालमा राजनीतिक अस्थिरता र सामाजिक असमानताले पछिल्लो समय नागरिकमा राजनीति प्रति नै धेरै वितृष्णा सिर्जना गरेको छ । राजनीतिले सिर्जना गरेको नैतिक खडेरीलाई निर्मलीकरण गर्नु नागरिकको अहिलेको चाहना नै सदाचार सहितको राजनीति हो भन्ने केही सम्भावनाहरु देखिएका छन् ।
सभ्य राजनीतिको जग
विगतदेखि कै परम्परावादी मतदाताको मत परिवर्तन गर्नु नै सभ्य राजनीतिको जग बस्नु हो । राजनीति बिग्रनुमा जति नेताहरुको हात रहेको हुन्छ उस्तै मतदाताहरुको पनि जिम्मेवारी हो । विकसित देशहरुमा शिक्षित मतदाताका कारण योग्य र क्षमतावान उमेदवारको चयनका लागि उनीहरुले बेला बेलामा एजेण्डाका आधारमा मत परिर्वतन गरेका हुन्छन् ।
परिर्वतनको आशा गर्ने तर मत परिर्वतन नगर्ने मतदाता धेरैे छन् । आधुनिक समयमा पुरानै ढर्राको जगले परिर्वतनलाई आत्मसात गर्न सक्दैन् । राजनीतिलाई सफा गर्ने हाम्रो परिकल्पना र सोच हो भने पहिला समाजका जराहरु पखाल्न जरुरी छ ।
तर, नेपालमा भने सक्षम उमेदवार र वैकल्पिक शक्तिहरुको आशा गरे पनि विश्वास गरेर मत दिने कम नै छन् । परिर्वतनको आशा गर्ने तर मत परिर्वतन नगर्ने मतदाता धेरैे छन् । आधुनिक समयमा पुरानै ढर्राको जगले परिर्वतनलाई आत्मसात गर्न सक्दैन् । राजनीतिलाई सफा गर्ने हाम्रो परिकल्पना र सोच हो भने पहिला समाजका जराहरु पखाल्न जरुरी छ ।
राजनीतिको टाउकोबाट होईन समाजका व्यक्ति, परिवार, समुदाय हुदै क्षत्रीय र राष्ट्रिय स्तरमा नै शुद्धीकरणको अत्यावश्यक छ । सदाचारको राजनीति स्थापित गर्नका लागि सिर्जनात्मक र मतदाता साक्षरतालाई व्यापक गरिनुपर्दछ । युवाहरुका भविष्यका लागि यस्ता समय सान्र्दिभक एजेन्डाका विषयमा अब युवा मतदाताले बुझ्नु, र बुझाउनु जरुरी छ ।
पुस्तान्तरणको सहजता
नैतिक र दुरदर्शी नेतृत्त्वको जिम्मेवारी नै नयाँ पुस्तालाई नेतृत्वको वातावरण सिर्जना गरिदिने साथै समयमा नै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी मार्ग प्रशस्त गर्नु पनि हो । जसरी उज्वलले पछिल्ला युवा नेताहरुमा योग्यता र क्षमता देखेर सभ्य राजनीतिक परिर्वतनका लागि सहज रुपमा नेतृत्व हस्तान्तरण गरी मार्ग प्रशस्त गरी दिए । यो नै सदाचारको राजनीति हो ।
अहिलेका नेपालका राजनीतिक दल कांग्रेस, एमाले, माओवादी, जसपा लगायतका दलहरुमा देखिएको यही नेतृत्त्व हस्तान्तरणको अनिच्छाले राजनीतिमा युवाहरुको भविष्य परपर धकेलिएको छ । आधुनिक डिजिटल युगका युवा वर्गमा आएको चेतनाले राजनीति र समाज दुवै क्षेत्रको रुपान्तरणलाई केही नयाँ भविष्यतर्फ लैजाने सङ्केत गर्दछ ।
यहीँ सम्भावनालाई देखेर आफूले स्थापना गरेको विवेकशील दल एकतापछिको विवेकशील साझाको नेतृत्त्वमा रविन्द्र मिश्र, मिलन पाण्डे जस्ता उर्जावान व्यक्तिलाई सुम्पिएका हुन् । उनले देखाएको जस्तो पुस्ता पुस्तान्तरणको सहजतालाई अन्य पार्टीहरुका शीर्ष नेतृत्वले पनि देखाउने हो भने नेपाली राजनीतिमा रुपान्तरण हुन धेरै जटिलता छैनन् । अन्य दलका युवा नेताहरुमा पनि पर्याप्त क्षमता र नेतृत्वको कौशलता छ । जुन कुरा प्रमाणित गरि राजनीति र समाज रुपान्तरणका लागि योगदान दिन सक्छन् ।
स्वाभिमान र उद्यमशीलता
राजनीतिप्रति आमनागरिकमा वितृष्णा छाएका बेला उज्वलले युवाहरूलाई राजनीति र उद्यमशीलता दुवै सिकाए । युवाहरुको व्यक्तिगत क्षमताको विकास आत्मनिर्भरता र आर्थिक उत्थान विना स्वाभिमानको जीवन परिकल्पना गर्न सकिँदैन भन्ने अभिप्रायले युवा उद्यमशीलतामा जोड दिए । बेरोजगार युवाहरुलाई स्वरोजगारसहित राजनीतिक चेतनामा उनले देखाएको बाटो अनुसरणयोग्य छ ।
राजनीतिक र आर्थिक दुवैै पक्षमा युवाहरु सक्षम र आत्मनिर्भर हुन पर्दछ भन्ने कुराले युवाहरुलाई राजनीतिप्रति आकर्षण गरेको छ । बाध्यताले विदेश पलायन भएका युवाहरुलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने सम्भावना र अवसरहरु देखाए ।
राजनीतिक र आर्थिक दुवैै पक्षमा युवाहरु सक्षम र आत्मनिर्भर हुन पर्दछ भन्ने कुराले युवाहरुलाई राजनीतिप्रति आकर्षण गरेको छ । बाध्यताले विदेश पलायन भएका युवाहरुलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने सम्भावना र अवसरहरु देखाए । विदेशमा बसेर स्वदेशको बिग्रिँदो राजनीतिलाई आलोचना मात्र गरेर हुँदैन कि युवा हामीले नै परिर्वतनको थालनी गर्नुपर्ने सत्प्रयास सिकाए ।
इतिहासले मात्र होईन पौरख र कर्मले मात्र स्वाभिमान जीवन जिउन सकिने मातृभूमिको महत्व दर्शाई दिए । आफ्नै पौरख र उद्यमले स्वयं युवाहरुमा स्वाभिमान अनुभूति गराउनु साथै युवाको कर्तव्य र राज्यप्रतिको दायित्व साथै योगदान पनि हुन्छ भन्ने उज्वल सदाचारी भविष्य देखाए ।
इमान्दारितापूर्ण राजनीति
सदाचार र इमान्दारपूर्ण राजनीतिका सत्पात्रहरु गान्धी, नेहरु, बिपी, गणेशमान, कृष्ण प्रसाद भट्टराईहरु सम्झनामा आउँछन् । उज्वल उनीहरु कै तुलनामा त अहिले नै पुग्दैनन् होला । तर, उनले सुरुवात गरेको इमानदारिताको राजनीतिक सेवा भने प्रशंसायोग्य नै थियो । विगतदेखि नै चल्दै आएको यथास्थितिवादको राजनीतिक ढर्रालाई चिरेर नयाँ आधुनीक समयको माग अनुसारको राजनीतिक मार्गको पहिचान र अवलम्बन गरेका थिए ।
आधुनिक समाज निर्माण, सक्षम युवाहरुलाई प्रोत्साहन, जनमुखी एजेण्डाहरुमा खबरदारी, इमानदारीताको राजनीति, नैतिकता र सदाचार राजनीतिले एउटा उज्वल भविष्यको गोरेटो तय गरेको छ । समाज र राजनीति परिर्वतन आफैबाट सुरुवात गर्नुपर्दछ ।
उनले आफ्नो र आगामी पुस्ताको भविष्यका लागि आफैबाट इमान्दारीतापूर्ण राजनीतिक परिर्वतनको पहल सुरुवात गरेका थिए । नागरिकका जनमुखी एजेण्डाहरु साथै आधारभुत मानव अधिकारका पक्षमा उभिएका थिए । राजनीतिक परिर्वतन ठूलो समुहले मात्र होइन, सानो र सभ्य समूहले सामान्य प्लेकार्ड र सचेतनामुलक पर्चाले पनि गर्न सकिन्छ भन्ने आम नागरिकमा भिन्न दृष्टिकोण बसालेका छन् । राजनीतिक विकृति र युवामा देखिएको वितृष्णालाई नयाँ ढङ्गबाट समाजको चेतनाका लागि विरोध, आन्दोलनका शैलीलाई नै परिर्वतन गरि सभ्य राजनीतिको थिति बसालेका छन् ।
जुन कुरा अरुले पनि अनुसरण गर्नु आवश्यक छन् । आधुनिक समाज निर्माण, सक्षम युवाहरुलाई प्रोत्साहन, जनमुखी एजेण्डाहरुमा खबरदारी, इमानदारीताको राजनीति, नैतिकता र सदाचार राजनीतिले एउटा उज्वल भविष्यको गोरेटो तय गरेको छ । समाज र राजनीति परिर्वतन आफैबाट सुरुवात गर्नुपर्दछ । यसर्थ, अब यो गोरेटोलाई युवाहरुको पौरखले सिञ्चित गर्न सकेमात्र समृद्ध नेपालको परिकल्पना पुरा हुन सक्छ । आफ्नै उज्वल भविष्यका लागि आजका युवाहरुमा उनले देखाएको सदाचारितापूर्ण परिर्वतनको झिल्कोलाई समयमा आत्मसात गर्नु जरुरी छ ।
- भुवन न्यौपाने
प्रतिक्रिया