लेटेस्ट न्युज
advertisement1

तीनकुने घटनामा गायब भएको पूर्वराजा ज्ञानेन्द्रको नैतिकता

Maryada News 2025-03-30 12:01:00
तीनकुने घटनामा गायब भएको पूर्वराजा ज्ञानेन्द्रको नैतिकता

ओ राजा !
ज्ञानेन्द्र शाह जीले पढन न सकेको महात्मा गांधीको एक उद्धरण छ।

गांधीले भन्नु भाथ्यो-“अहिंसाको बिचार निःशस्त्र व्यक्तिको भन्दा शसस्त्र व्यक्तिको मनमा रहनु जरूरी छ।” अर्थ्याउनु नपर्ला, एक शसस्त्र व्यक्ति बौलायो भने सयौंको ज्यान जान सक्छ।

जबकि, एक अहिंसक आन्दोलनकारीले हठ नै गरे भने उ स्वयं मर्छ।

कुनै आन्दोलनका नेताले यदि आन्दोलनमा हिंसक चरित्रका, उच्छृँखल वा गुण्डा तत्वहरूलाई दुरूत्साहन दिन्छ, सहभागी गराउँछ भने निःशंक रूपमा उसले हिंसालाई बढाएको मानिन्छ।

यसका बिरूद्ध कुनै कुतर्कको स्थान रहदैन,जुन हिजो चैत्र १५ गतेका काठमांडूमा ज्ञानेन्द्र शाहले कलाबिहीन तवरमा मंचन गरेएका हुन्।

यसका कर्ता र पोषक स्वयं यिनी हुन्। दुर्भाग्यबश यिनले अहिले सम्म यस कुकृत्यको नैतिक जिम्मेवारी लिएका छैनन्।

आन्दोलनकारीले आन्दोलन यदि निर्दिष्ठ उद्देश्य भन्दा बिपरित दिशामा बहकियो भने तेसलाई रोक्ने हैसियत राख्न सक्नु पर्दछ।

यसका लागि बिभिन्न मुलुकहरूमा भएका आन्दोलनहरूका दृष्टान्त दिई रहनु पर्दैन्।

जीवन भर जनताको दमन मात्र गर्ने सोचका ज्ञानेन्द्र शाहले शायद आफ्नै मुलुकमा घटित आन्दोलनहरूका हेक्का राखेको भए मैले यसो याद गराउनु पर्दैन्थ्यो।

बि।स। ०७ सालको क्रान्तिमा दिल्ली सम्झौता भयो। बस्तुतः दिल्ली सम्झौता दिल्ली र मोहन शम्सेरका बीच भयो।

यसमा क्रान्तिका नायक दल नेपाली काँग्रेसलाई बाहिर राखियो। जुन सम्झौताबाट ज्ञानेन्द्र शाहका बाजे राजा त्रिभुवनको गद्दी जोगियो, स्मरणीय छ-दिल्ली पलायन गरेको त्रिभुवनलाई पदच्यूत गरी मोहन शम्सेरले बालक रहेका यिनै ज्ञानेन्द्रलाई श्रीपेज लाईदिएर राजा बनाएका थिए।

यस सम्झौतालाई अमान्य गर्दै डा। के।आई। सिंहले शसस्त्र बिद्रोह गरे। यसको कथा लामो छ।

मैले यति मात्र उल्लेख गर्न चाहेको हुँ कि ०७ सालको क्रान्तिमा दिल्ली सम्झौताबाट जे जति उपलब्धिहरू प्राप्त भएको थियो, तेसको महत्वलाई बुझेर बिपी कोईराला र क्रान्तिका नायकहरूले डा. के.आई. सिंहको बिद्रोहलाई अनुचित तथा अनावश्यक भन्दै आलोचना मात्र गरेनन्।

डा. के.आई. सिंहलाई समेत नियन्त्रणमा लिए। यो सहास र नैतिक दायित्व क्रान्तिका नेताहरूले देखाए।

यसपछि काठमांडूमा भएको एक प्रदर्शनका दौरान पुलिसको गोलीबाट चिनिया काजीको हत्या भयो।

स्वयं प्रधानमंत्री मेहनशम्सेर, बबर शम्सेरहरूले न चाहदाँ चाहदै बिपी कोईरालाले क्रान्ति पछिको अन्तरिम सरकारको गृहमंत्रीको पदबाट राजिनामा दिनु भयो।

सारा संसार एक राजनेताको तेस जिम्मेवारी एवं दायित्वलाई हेरी चकित थियो।

यस अघिको पूर्वी नेपालको माझ किरात तथा लिम्बूआनमा भएको बिद्रोहको चर्चा यहाँ उतिकै समिचिन हुन्छ।

तेस बेलाका बुढापाका जो जीवित छ, याद होला। जसले इतिहासको अध्ययन गरेको छ,संझिएको हुनुपर्छ।

यो भनाई दशकौंसम्म चर्चामा रह्यो-“तेरो घरमा काँग्रेस पसोस्।” पछि पंचहरूले सर्वाधिक रूपमा यसलाई बोल्दै काँग्रेसलाई सराप्दै गरे।

सात साल ताका अधिकांश जमिन्दार तथा बिर्तवाल, सामन्तिहरू राणालाई साथ दिए। यस मध्येका बहुतायत राजाका भारदारी सभामा थिए।

नेपाली काँग्रेसका अधिकांश लडाकाहरू बिषेशतः मुक्ति सेनामा राई, लिम्बू जस्ता आदिवासी(जनजातिहरूको बाहुल्यता थियो।

सात सालको क्रान्ति सफल भएपछि यी लडाका मुक्ति सैनिकहरू राणाहरूलाई सहयोग गरेका जमिन्दार, बिर्तवाल तथा सामन्तिहरूको बिरूद्ध जाई लागे।

कोशी पूर्व र पश्चिम, अरूण पूर्व र पश्चिमका माझ किरात तथा लिम्बूआनमा व्यापक लुटपाट मच्चियों।

बिपी कोईरालाले मुक्ति सेनाका कमाण्डरहरू जिबी याकथुम्वा तथा नेताहरूका साथ तेस क्षेत्रको पैदल भ्रमण गर्नु भयो।

यस्ता गतिबिधीहरूलाई तत्काल रोक्न आह्वान गर्नु भयो। यी सब घटनाहरूको नैतिक जिम्मेवारी लिएर तेस बारदातहरूलाई ठाँउ का ठाँम रोक्नु भयो।

राजा महेन्द्रले ०१७ सालमा सैनिक कू गरी संसदीय व्यवस्था समाप्त गरेपछि बिपी लगायत असंख्य नेता कार्यकर्ताहरू जेलमा हालिए।

नेपाली काँग्रेसका अर्का ठुला नेता सूवर्ण शम्सेर भारतको प्रवासमा रहनु भयो।

बि.स. २०१८ सालमा उनको नेतृत्वमा राजाका कदमको बिरूद्ध शसस्त्र प्रतिरोध शुरू भयो। जनकपुरमा राजा महेन्द्रको जीपमा बम प्रहार गरियो।

तनहुँको बन्दिपुरमा भएको आक्रमण, चितौनको आक्रमण चर्चित रहेका छन्। बालकृष्ण समका छोरी ज्वाईलाई राजाले ज्यूदै खाल्डो खनेर पुर्न लगाए।

सयौं शहीद पारिए। मारिए कथा लामो छ, भयावह छ। यो निर्णायक बिन्दूमा पुग्नै लाग्दा भारत र चीनका बीच सीमायुद्ध प्रारम्भ भयो।

यस्तो अवस्थामा भारतको भुमिबाट नेपालमा सेना एवं सरकारका बिरूद्ध शसस्त्र कारबाही हुदाँ चीनले नेपालमा प्रवेश गरी भारतका बिरूद्ध सैन्य कारबाही गरे नेपाली सार्वभौमसत्तामा आघात पर्न सक्छ भनी सूवर्ण जीले यसलाई स्थगन गराउनु भयो।

नेपाली काँग्रेसका लडाकाहरूले यस निर्णयको व्यापक बिरोध गरे। कयौं स्थानमा प्रतिबिद्रोह भयो। तर, सूवर्ण जीको सुझबुझले रोकियो।

नेपाली काँग्रेस भित्र बिभाजनको रेखा कोरियो। तर, नेतृत्व बलियो थियो, प्रभावशाली थियो। कसैको चलेन।

यसले गर्दा राजाको तानाशाही शासन पछि ३२ बर्षसम्म कायम रहन गयो।

बिपी कोईराला, गणेशमान सिंहहरू लगातार आठ बर्षको जेल जीवन पछि बि.स. २०२६ सालमा रिहा हुनु भयो।

पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा उहाँ भारतमा निर्वासित हुनु भयो र बि.स. २०२९ साल पश्चात बिपीको नेतृत्वमा पंचायति व्यवस्था तथा राजाका बिरूद्ध शसस्त्र आन्दोलन प्रारम्भ भयो।

यस दौरान अनेकन् बम काण्डहरू भए। प्रत्याक्रमणहरू भए। बिमान अपहरण भयो। हरिपुर आक्रमण जस्ता कयौं कारबाहीहरू भयो, यस मध्येका सबै भन्दा चर्चित राजा बीरेन्द्रको बिराटनगर आगमनमा बम प्रहार तथा ओखलढुंगा टिमुरबोटेको काण्ड हो।

ओखलढुंगामा बिलक्षण क्रान्तिकारीहरू राम, लक्षमण दाजु भाई लगायत सेनाको घेरामा परेपछि मारिए।

यहाँ पक्रिएका क्याप्टन यज्ञबहादुर थापा र बिराटनगर बमकाण्डमा आरोपित भीमनारायण श्रेष्ठलाई अदालतको फैसला गराई गोली हानी मारियो।

यस घटनाबाट बिपी कोईरालालाई ठूलो धक्का लाग्यो र उहाँले तत्काल शसस्त्र आन्दोलनलाई रोक्नु भयो।

जो सुकैले अनुमान गर्न सक्छ कि बर्षौंको तयारी, शस्त्र संचय तथा परिचालन जारी रहेको अवस्थामा एक्कासी शसस्त्र कारवाहीलाई रोक्न सक्नु कति चुनौतिको कुरा हो, जुन बिपीले बहन गर्नु भयो।

बि।स। २०३६ सालको बिद्यार्थी आन्दोलका पुस्ता अहिले राजनीतिमा सक्रिय नै छन्। काँग्रेस र कम्युनिष्ट दुबै तिरबाट।

जनमत संग्रहको घोषणा यस आन्दोलनको ऐतिहासिक उपलब्धि थियो। यसलाई स्वीकार गर्नु कम ठुलो चुनौतिको बिषय थिएन।

आन्दोलन उत्कर्षमा पुगेका बेला, राजा बीरेन्द्रको शासन धरापमा परेपछि “सुधारिएको पंचायति व्यवस्था” कि “बहुदलीय व्यवस्था” छान्नका लागि जनमत संग्रह गरिने शाहीघोषणा भयो।

यसलाई स्वीकार गर्दै बिपीले जनमत संग्रहलाई स्वीकार गर्नु भयो। पार्टी भित्रबाट गणेशमान जी को आसन्न बिद्रोह र सडकमा बिद्यार्थीहरूको प्रतिरोध देखियो।

तेस बिद्यार्थी आन्दोलनका चर्चित नेताहरू नेबिसंघका बलबहादुर केसी र अनेरास्वबियूका शरणबिक्रम मल्ललाई, जनमत संग्रह स्वीकार गरेको भनी आक्रोशित बिद्यार्थीहरूको हूलले त्रिबि कीर्तिपुरबाट घचारेर ल्याई न्यूरोड गेट नेरबाट जुताको माला लगाई, कालो मोसो दली, ठेलामा बसाएर न्युरोड घुमाए।

तर, बिपी अडिग रहनु भयो। आन्दोलन स्थगित नै भयो। कृतघ्न राजा र उसका शासनले अनेकन धांधली गरेर पुरै मुलुक भरमा गरी जम्मा चार लाख मतको अन्तरले बहुदलीय व्यवस्थाको पक्षलाई पराजित गराए।

कस्तो संयोग, तेस बेलाका कर्ताधर्ता मध्येका एक प्रमुख नवराज सुवेदी अहिलेको कथित राजावादी आन्दोलनका संयोजक बनाइएका छन्।

पंचायती व्यवस्थाको खिलाफमा निर्णायक आन्दोलनलाई अगाडी बढाउन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालको नेतृत्वमा नेपाली काँग्रेसले लामो तयारी पछि बि.स. २०४२ सालमा शान्तिपूर्ण र अहिंसात्मक सत्याग्रहको थालनी गर्यो।

तात्कालीन कम्युनिष्टहरू पनि यसमा सहभागी भए। पंचायत हल्लियो। बि.स. २०१७ साल पछि सर्वाधिक राजबन्दीहरू मुलुक भरका जेलहरूमा कोचियो।

यसै बीच सिंहदरबारको ग्यालरी बैठक जहाँ राष्ट्रिय पंचायतको बैठक जारी थियो-तेहाँ, राजदरबारको गेटमा, दरबारको लगानी तथा संलग्नता रहेको पाँच तारे होटल अन्नपुर्णामा बम बिस्फोटहरू भयो।

रामराजा प्रसादले गणतन्त्र स्थापनाका लागि यी श्रृँखलाबद्ध बमकाण्डको जिम्मेवारी लियो।

नेपाली काँग्रेसको अहिंसक सत्याग्रहको समानान्तर हिंसात्मक बारदातको प्रवेश भयो। सत्याग्रहको अक्षुण्णतामा हिंसाको छायाँ देखियो।

पार्टी सभापति कृष्णप्रसाद भट्टराईले गणेशमान सिंहको असहमतिलाई छेउ लाएर भएपनि सत्याग्रहलाई स्थगित गर्नु भयो। तेही बेला ढल्ने राजाको पंचायति व्यवस्था अर्को चार बर्ष पछि बि.स. २०४६ को ऐतिहासिक पहिलो जन आन्दोलनको कारणले ढल्यो।

आज पनि धेरैलाई याद होला, राजाबाट बाध्यतावश ०१७ सालमा अपहरित बहुदलीय संसदीय व्यवस्थाको पुनर्स्थापनाको घोषणा पछि टुडिखेलमा आयोजित इतिहास कै शायद सर्वाधिक महत्वपूर्ण सभामा गिरिजाप्रसाद कोइरालाले यो जीत सबै नेपालीको, जनताको पनि र राजाको पनि” भनी बोल्नु भएपछि “राजाको होईन, होइन” भनी गिरिजा कोइरालालाई सभामा बोल्न दिइएन।

सभा अवरूद्ध भयो। तर, नेपाली काँग्रेसका नेताहरू, कम्युनिष्टहरू बिचलित भएनन्।

आम जनतालाई नारायणहिटी राजदरबारको ढोका तिर बढन दिएन, जहाँ दरबारको योटा कुनामा सेनाको घेरा भित्र यी ज्ञानेन्द्र कतै लुकेर बसेका थिए होलान्।

मैले यहाँ बि.स. २०६३ को दोस्रो ऐतिहासिक जन आन्दोलनको चर्चा गरिन।

लाखौं जनता दरबार फोडन हान्निएको बेला कसरी नेताहरूले जनताको उन्मेषलाई रोके, राजाको प्राणको रक्षा गराए(यो कम चुनौतिको कुरा थिएन।

राजाले ईतिहासमा जनतासंग, नेपाली काँग्रेससंग जुन घात गरेको थिए, जनतालाई रोक्न नसकेको भए नारायणहिटीका नालाहरूमा, टुकुचामा बगेका रगतको आहालमा बगिरहेका मासुका टुक्राहरू, चोईटिएर छरिएका अंगहरूको डिएनए परीक्षण गरेर को को मारिए पहिचान गर्नु पर्ने हुन्थ्यो।

सौभाग्यवश, ती कृतघ्न मानिस आज राजा रहेनन्। तर, पुनः राजा हुनका लागि अनेकन् आधारहरू खडागरी, लुप्त षडयन्त्रहरूको सहारा लिई गणतन्त्र फाल्ने उद्यममा लागेका छन्।

जसको दुष्परिणाम स्वरूप हिजोको घटना भयो। तर, देखिएन यिनको नैतिकता !

मैले भन्न चाहेको यति हो-न त दुष्परिणाम पछि तेसलाई स्वीकार्ने सहास देखियो, न त आफुले आह्वान गरेको आन्दोलनलाई ठिक दिशामा पहिल्याउने हिम्मत नै देखियो, न त नैतिकता नै ! बस् यही हो सत्य !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्