काठमाण्डू, शिक्षक आन्दोलन जारी रहेको २० दिनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।
उनले पदभार ग्रहण गरेको झन्डै १० महिनापछि राजीनामा दिएकी हुन् । उनी गत वर्ष असार ३१ गते नियुक्त भएकी थिइन् ।
सोमबार दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पुगेकी मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । उनले किन राजीनामा दिनुभएको हो खुल्न सकेको छैन ।
यद्यपि, शिक्षक आन्दोलन र महासंघले राखेको मागका बारेमा प्रम र भट्टराईबीच मत मिल्न नसकेपछि राजीनामा दिएको अनुमान छ ।
मन्त्रालयको कमजोर संयन्त्रका कारण मन्त्रालयले महासंघसँग वार्ताको निचोड निकाल्न नसकेको हो ।
उच्चस्रोतका अनुसार यसअघि पनि राजीनामा दिने तयारीमा रहेकी मन्त्री भट्टराईले शिक्षक आन्दोलनको विषयमा मत मिल्न नसकेपछि राजीनामा दिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले शिक्षकको आन्दोलनको विषयमा शुक्रवार मध्यरातसम्म महासंघसँग वार्ता गर्दा मन्त्री भट्टराईलाई बोलाएका थिएनन् । ।
पेसागत महासंघले शिक्षक आन्दोलनको विषयमा आइतबार ध्यानाकर्षणपत्र बुझाउँदा मन्त्री भट्टराईलाई जानकारी दिइएन ।
यसरी आफ्नो मन्त्रालयको विषयमा सरोकारवालासँग छलफल गर्दा र बैठक बस्दा नबोलाएपछि उनी असन्तुष्ट रहँदै आएकी थिइन ।
‘सोही असन्तुष्टिको आधारमा मन्त्रीज्यूले राजीनामा दिनुभएको अनुमान छ’ –मन्त्रालय स्रोतले भन्यो ।
विद्यालय शिक्षा विधेयकको विषयमा सांसद छविलाल विश्वकर्माको उपसमितिमा लगातार छलफल गर्दा सहभागिता ।जनाइरहनुभएका मन्त्री भट्टराईले एकाएक राजीनामा दिने विषय कहीँकतै चर्चा थिएन ।
शिक्षक महासंघसँग लगातार वार्तामा रहेकी मन्त्रीले समस्या समाधान गर्न नसकेको आरोप छ । मन्त्रीको राजीनामासँगै अब शिक्षक आन्दोलन के हुने भन्ने विषय अन्योल छ ।
मन्त्रिपरिषद्को बैठकले महासंघले राखेको मागको निकास दिने तयारी गरेको थियो । महासंघ मन्त्रिपरिषद्को बैठकको निर्णयको आधारमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने तयारीमा छ ।
शिक्षकले उठाउँदै आएका मागलाई शिक्षा मन्त्रालयले ७ वटा प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा दर्ता गराएको छ । काठमाडौं केन्द्रित सडक प्रदर्शनको २०औं दिनमा प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भएको हो ।
प्रस्ताव पारित गरे शिक्षकले थालेको आन्दोलनको मोडालिटी परिवर्तन हुन सक्छ । उच्चस्रोतका अनुसार महासंघले केही शिक्षकलाई कार्यक्षेत्रमा पठाएर आन्दोलनको मोडालिटी परिवर्तन गर्न लागेको हो ।
यातायात व्यवसायी, अभिभावक, दलगत विद्यार्थी संघसंगठनले समेत आन्दालनको चर्को विरोध गर्न थालेपछि महासंघले आन्दोलनबाट कसरी ब्याक हुने भन्ने बाटो खोजिरहेको छ ।
महासंघ ऐन आएपछि मात्र आन्दोलन रोक्ने मुडमा छ । ‘मन्त्रिपरिषद्को बैठकले कस्तो निर्णय गर्छ सोही आधारमा हाम्रो आन्दोलन अघि बढ्नेछ’ –आन्दोलन परिचालन समितिका संयोजक एवं महासंघका सहअध्यक्ष नानुमैया पराजुलीले भनिन् ।
महासंघले हिजो सोमबार पनि आन्दोलन जारी राखेको थियो । दिउँसो हुने प्रदर्शन रोकेर बिहान ९ देखि मध्याह्न १२ बजेसम्म प्रदर्शन जारी राखेको छ ।
महासंघले ऐन जारी हुनुपर्ने र वृत्ति विकास र विभिन्न पेशागत मागसहित चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन जारी राखेका छन् भने २५ गतेबाट शैक्षिक हड्ताल घोषणा गरेपछि सामुदायिक विद्यालयहरूमा शैक्षिक गतिविधि ठप्प छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार छ । ईसीडीका शिक्षकको तलब १७ हजार ३ सय बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गमभत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम निर्धारण गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षकको उपचारमा छुटको व्यवस्थालगायतका माग पूरा गर्न सरकार तयार भएको छ ।
मन्त्रालयले प्रस्ताव तयार पार्नुअघि गृह र अर्थ मन्त्रालयसँग सहमति लिइसकेको छ । स्थानीय तहले शिक्षकको मर्यादामाथि प्रहार गर्न थालेपछि स्थानीय तहको अधिकार कटौती गर्न माग गरेको छ ।
त्यस्तै, राहत, अस्थायी, साविक उच्चमावि, अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक छुट, अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई कसरी स्थायी गर्ने भन्ने विषय पेचिलो बनेको छ ।
तात्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल र अशोक राईसँग भएको विगतको सहमतिअनुसार हुनुपर्ने माग महासंघको छ ।
शिक्षकद्वारा अभिभावक कुटिए
लगातार आन्दोलनका कारण आफ्नो छोरीलगायत विद्यार्थीको पठनपाठन खुला गर्न माग गर्दा एक अभिभावक निर्धात कुटिएका छन् ।
गोदावरी नगरपालिका–५ निवासी सनत महतलाई शिक्षक आन्दोलनमा घुसपैठ गरेको आरोप लगाएर शिक्षकले कुटपिट गरेका थिए ।
उनकी छोरी प्रेसप्रोएका महत स्थानीय सरस्वती माविमा कक्षा ८ उत्तीर्ण गरी ९ मा पुगेकी छिन् ।
महतले भने– ‘मैले त शिक्षकहरूलाई अब आन्दोलनको मोडालिटी परिवर्तन गर्नुप¥यो भनेको थिएँ ।
के थाहा शिक्षक यति उग्र हुन्छन् भनेर । मैले त शिक्षक भनेको शिष्ट व्यक्ति हुन भनेर सोचेको थिएँ । ममाथि धक्कामुक्का भयो ।
मलाई कसैले सिकाएर गएको होइन । म त मेरो वडाको विद्यालयको एकजना अभिभावक भएको नाताले गएको हुँ । ममाथि अभद्र व्यवहार भयो ।’
कक्षा १२ को परीक्षा केही दिन पछि सर्ने
यस वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । आज मंगलवार बिहान ८ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको छ ।
उच्चस्रोतका अनुसार केही दिनका लागि भएपनि परीक्षा सर्ने सम्भावना रहेको छ । कति दिन सर्ने भन्ने विषयमा बोर्ड बैठकले निक्र्योल गर्नेछ ।
यदि, आज आन्दोलन रोकियो भने पनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्ने अवस्था रहँदैन ।
उत्तरपुस्तिका पुगिसके पनि केन्द्राध्यक्ष विद्यालयमा पुग्नुपर्छ । अनलाइनबाट प्रश्नपत्र पु¥याए पनि प्राविधिक कारणले केही दिन सर्न सक्छ ।
प्रतिक्रिया