एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मा गुजरात टाइटन्सले छैटौँ जीत निकालेको छ ।
छैटौँ जीत दर्ता गर्नेक्रममा गुजरातले सोमबार राति कोलकाता नाइट राइडर्सलाई ३९ रनले हरायो ।
कोलकाताले भने पाँचौं हार बेहोर्यो । आफ्नो आठौँ खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान अजिंक्य रहाणेले अर्धशतकीय पारी खेले पनि टमलाई जित दिलाउन सकेनन् ।
उनले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५० रनको पारी खेलेका हुन् ।
यस्तै, अंगकृष रघुवंशीले २७, आन्द्रे रसेलले २१, रिंकु सिंह र सुनिल नाराइनले १७/१७ र वेंकटेश अय्यरले १४ रन जोडे ।
गुजरातका लाथि प्रसिद्ध कृष्णा र राशिद खानले दुई/दुई तथा वासिङ्टन सुन्दर, साई किशोर, इशान्त शर्मा र मोहम्मद सिराजले एक/एक विकेट लिए ।
त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ९८ रन बनायो ।
उसका लागि कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतकीय पारी खेले ।
गिलले ५५ बलमा १० चौका र तीन छक्कासहित ९० तथा सुदर्शनले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् ।
यस्तै, जोस बटलरले २३ बलमा ८ चौकाको सहयोगमा अविजित ४३ न जोडे । कोलकाताका लागि वैभव अरोरा, आन्द्रे रसेल र हर्षित रानाले एक/एक विकेट लिए ।
जारी सिजनमा गुजरातले आठ म्याच खेल्दासम्म ६ मा जीत र दुई खेलमा मात्र हार बेहोरेको छ । उसले अझै ६ वटा म्याच खेल्न बाँकी छ ।
गुजरातले अब प्लेअफमा स्थान बनाउन दुई खेलमा जीत निकाल्न आवश्यक छ ।
यस्तै, अंक तालिकाको सातौं स्थानमा रहेको कोलकाता प्लेअफ सम्भावना पनि जीवितै छ ।
उसले आठ म्याच खेल्दासम्म पाँचमा हार तथा तीन खेलमा जीत निकालेको छ ।
प्लेअफमा स्थान बनाउने कोलकाताले अब ६ मध्ये पाँच खेल जित्नुपर्ने समीकरण बनेको छ ।
प्रतिक्रिया