एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि सहज जीत हासिल गरेको छ ।
वानखेले रङ्गशालामा आइतबार राति सकिएको खेलमा घरेलु टोली मुम्बईले चेन्नईमाथि नौ विकेटको सहज जीत निकालेको हो ।
चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र एक विकेट गुमाएर १५.४ ओभरमै पूरा गर्यो ।
मुम्बईको जितमा दुई खेलाडीले अविजित रहँदै अर्धशतक बनाए । रोहित शर्माले सर्वाधिक ७६ तथा सूर्यकुमार यादवले ६८ रन बनाए ।
शर्मा खेलको उत्कृष्ट तथा यादव मूल्यवान खेलाडी घोषित भए । चेन्नईका लागि एक मात्र विकेट रवीन्द्र जडेजाले लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।
चेन्नईका लागि पनि दुई खेलाडीले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । जडेजाले अविजित ५३ तथा शिवम दुबले ५० रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराहले सर्वाधिक दुई विकेट लिए ।
आईपीएलमा मुम्बई र चेन्नई प्रमुख प्रतिद्वन्द्वी हुन् । यी दुवै टोलीले समान पाँच पटक उपाधि जितेका छन् ।
यो जितले मुम्बई आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा पुगेको छ । चेन्नई मात्र चार अङ्कसहित १० टोली सम्मिलित लिगको पुछारमा छ ।
आइतबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले पञ्जाब किङ्ग्सलाई सात विकेटले हराएको थियो ।
बैङ्लोर तेस्रो तथा पञ्जाब चौथो स्थानमा छन् । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने प्रावधान छ ।
प्रतिक्रिया