‘सच्चा लोकतन्त्रवादीहरू बिना लोकतन्त्र बाँच्न सक्दैन ।’ कुनै पनि देशको लोकतान्त्रिक संस्कारबारे चर्चा गर्दा यो भनाइ बहुधा उद्धृत हुने गर्छ । हाम्रो सन्दर्भमा यो उक्ति झनै सान्दर्भिक हुँदै गएको छ । मूलतः राजनीतिक नेतृत्वले लोकतन्त्रसम्मत व्यवहार देखाएन भने लोकतन्त्रको जगमा उभिएको संविधान, ऐन–नियम र सामाजिक मूल्य–मान्यता अर्थहीन बन्ने रहेछन् । नेपालमा चलिरहेको राजनीतिक जात्राले यही तथ्यलाई पुष्टि गर्छ । नेपाल समयको एउटा विडम्बनाग्रस्त मोडमा उभिइरहेको छ । सैद्धान्तिक दृष्टिले देशमा लोकतन्त्र छ । तर, व्यवहारमा लोकतन्त्र छैन । सबै राजनीतिक नेतृत्वले विधि र पद्धतिको सुगा रटान गर्छन् । तर, व्यवहारमा चाहिँ कसैले लागू गर्दैनन् ।
राजनीतिक नेतृत्व सधैँ लोकतान्त्रिक मूल्य–मान्यताकै कुरा गर्छ । तर, व्यवहार भने त्यसको विपरीत छ । यस्तो लाग्छ, हाम्रो सन्दर्भमा लोकतन्त्र ‘लिप सर्भिस’ बढी केही पनि होइन । समयको प्रवाहमा हामीले एकदलीय पञ्चायती व्यवस्थादेखि लालीगुराँस क्रान्तिद्वारा स्थापित गणतन्त्रसम्मका राजनीतिक व्यवस्था देख्यौँ । लोकतन्त्रको पथमा यति लामो यात्रामा यात्रारत रहँदा हाम्रो राजनीतिक संस्कार र व्यवहार परिष्कृत हुँदै जानुपर्ने हो ।
राजनीतिक नेतृत्वको चरित्र र व्यवहारमा अपेक्षित परिष्कार भएको देखिन्न । राजनीतिलाई पेशा बनाउनेहरूका लागि लोकतन्त्र गायत्री मन्त्रजस्तै बनेको छ, जसको काम फलाक्नुमा मात्र सीमित । व्यवहारमा अनुवाद गर्न नपर्ने । लोकतन्त्रको आगमनपछि शेरबहादुर देउवा, माधव नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रचण्ड, केपी ओली जस्ता शीर्ष राजनीतिक व्यक्तित्वले देशको बागडोर सम्हालिसकेका छन् । सबै परीक्षित पात्र हुन् ।
देशको उच्च ओहोदामा पुगेर पनि गरिब नागरिकका नाममा आएको छात्रवृत्तिमा आफ्नै छोराछोरीलाई विदेश पठाउने, नितान्त साँघुरो राजनीतिक स्वार्थका लागि सांसद खरिद–बिक्री गर्ने, आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि नेपथ्यमा देशकै सौदावाजी गर्ने, सर्वहारा नागरिकको कुरा गरेर नथाक्ने तर आफू चाहिँ सधैँ राजसी ठाँटमा जीवन व्यतीत गरिरहने । यस्ता टीका–टिप्पणी जनजनबाट सुनिने गरेको छ ।
अब, उनीहरूको स्वाभाव र चरित्र थप रहस्यको विषय होइन । उनीहरूको कृत्य र कुकृत्य सबै छताछुल्ल भइसकेका छन् । उनीहरूबाट भावी राजनीतिक नेतृत्व र नागरिकले सिक्ने असल पाठ के हो ? छुट्याउन कठिन छ ।अवसर पाएर पनि उनीहरूले जनअपेक्षित काम गर्न सकेनन् । उनीहरूलाई सिंगापुरका निर्माता लिक्वान यु र मलेशियाको ‘गेम चेन्जर’ मानिएका त्यहाँका भूतपूर्व प्रधानमन्त्री महाथिर महम्मद बन्ने अवसर थियो । उनीहरूले सुनौलो अवसर गुमाएका छन् । बरू, उनीहरूको नाम प्रत्यक्ष वा परोक्ष रूपमा गलत दृष्टान्त प्रस्तुत गर्ने राजनीतिक नेतृत्वमा अङ्कित हुन पुगेको छ । देशको उच्च ओहोदामा पुगेर पनि गरिब नागरिकका नाममा आएको छात्रवृत्तिमा आफ्नै छोराछोरीलाई विदेश पठाउने, नितान्त साँगुरो राजनीतिक सांसद खरिद–बिक्री गर्ने, आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि नेपथ्यमा देशकै सौदावाजी गर्ने, सर्वहारा नागरिकको कुरा गरेर नथाक्ने तर आफू चाहिँ सधैँ राजसी ठाँटमा जीवन व्यतीत गरिरहने । यस्ता टीका–टिप्पणी जनजनबाट सुनिने गरेको छ ।
नेपाली भूमिमा विदेशीले बूट बजारिरहँदा शीर्षनेतृत्व रहस्यमय किसिमले मौन बसेको छ । कोरोनाको पहिलो र दोस्रो लहरले देशलाई फौजी कीराले झैँ छोप्यो । यो महाविपत्को घडीमा नागरिक उपचार नपाएर नागरिक छटपटाइ रहँदा र अस्पतालले गरिब जनताबाट मोटो रकम असुलिरहँदा राजनीतिक नेतृत्वले मुख खोलेन । भ्रष्टाचारी प्रवृत्तिको जरो समाउन खोज्दा राजनीतिक नेतृत्व भित्रभित्रै त्रस्त बन्न पुग्यो । कमिसन र कृत्रिम महङ्गीले सर्वसाधारण नागरिक आकुलव्याकुल भइरहँदा राजनीतिक नेतृत्व देशमा मौलाइरहेको कमिसनतन्त्र र कृत्रिम महङ्गीविरुद्ध उत्रन चाहेन । जनजीविका र उद्यमशीलताका सवालमा पनि राजनीतिक नेतृत्व उदासीन बनिरह्यो ।
नागरिकले यावत हैरानी र सास्ती भोगिरहँदा चुँसम्म नबोल्ने हो भने के का लागि राजनीति गर्ने ? राजनीति सत्ताप्राप्तिको माध्यम मात्र हो र ? एकले अर्काको कद घटाउने र आरोप–प्रत्यारोपमा मात्र रमाइ रहनु राजनीतिक धर्म हो र ? यस्ता प्रश्नको उत्तर खोजेर राजनीतिक नेतृत्व सच्चिनुपर्छ ।
दलित समुदायमाथि मध्यकालीन बर्बरता सम्झाउने क्रूर हिंसा भइरहँदा राजनीतिक नेतृत्वले अन्तरष्करणबाट नबोली केवल ‘लिप सर्भिस’ दिइरह्यो । जनजाति र अल्पसंख्यक समुदायको सांस्कृतिक अधिकार हनन हुँदा नेतृत्व वर्गले कुनै सम्वेदनशीलता देखाएन । हाम्रो राजनीतिक नेतृत्व एउटा सुविधाभोगी बिचौलिया वर्गका लागि प्रिय होलान्, जनस्तर (ग्रासरुट्स) का नागरिकका लागि प्रिय छैनन् । यो कुरा उनीहरूकै कार्यशैली र व्यवहारले शनैः शनैः पुष्टि गरिरहको छ ।
नागरिकले यावत हैरानी र सास्ती भोगिरहँदा चुँसम्म नबोल्नेले हो भने के का लागि राजनीति गर्ने ? राजनीति सत्ताप्राप्तिको माध्यम मात्र हो र ? एकले अर्काको कद घटाउने र आरोप–प्रत्यारोपमा मात्र रमाइ रहनु राजनीतिक धर्म हो र ? यस्ता प्रश्नको उत्तर खोजेर राजनीतिक नेतृत्व सच्चिनुपर्छ । एकतिर नागरिकको सुखदुःखबाट टाढिँदै जाने तर अर्कोतिर लोकतान्त्रिक मूल्य–मान्यताको नारा फलाकिरहने । यस्तो ढोगी प्रवृत्तिबाट न देशले अपेक्षित प्रगति गर्छ, न त नेतृत्व वर्गकै मान–प्रतिष्ठा जोगिन्छ । नागरिकको सुखदुःखबाट शनैः शनैः टाढिएको राजनीतिक नेतृत्वबाट अब के अपेक्षा गर्ने ?
राजनीतिक नेतृत्व किन नागरिकको दुःख–पीडा निवारण गर्ने दिशामा प्रतिस्पर्धा गर्दैनन् ? किन सत्ताप्राप्तिको छिना झपटीमा मात्रै केन्द्रीत हुन्छन् ? नेपालको वर्तमान शीर्ष नेतृत्वले आपूmभन्दा उमेरले कान्छा नेता राहुल गान्धी (भारतको कांग्रेस आईका नेता) बाट पाठ सिकुन् । राहुल गान्धी गाउँगाउँमा पुगेर नागरिकको पीरकष्टसँग परिचित हुने र नागरिकलाई ढाडस दिने कार्यमा सरिक भइरहेका देखिन्छन् । खोई, त हाम्रा राजनीतिक नेतृत्वले त्यसो गर्न सकेको ? अहिले देशमा चलिरहेको राजनीतिक छिना झपटी यो वा त्यो रूपमा सत्ताप्राप्तिकै खेल हो । केपी ओलीबाट लोकतान्त्रिक लोकतन्त्र र संविधानको चीरहरण भयो भन्ने भाष्य विकास भइरहेको छ । यसबारे पर्याप्त वादविवाद गर्न सकिन्छ । संसद विघटनको मामिला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समयदेखि विवादास्पद छ ।
सधैँभरी सत्ताकै लागि लुछाचुँडी गर्ने र नागरिक जीवनमा तात्त्विक अन्तर नल्याउने हो भने केपी ओलीको ठाउँमा माधव नेपाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई वा प्रचण्ड प्रधानमन्त्री भए देशले के पाउँछ ? सत्ताको खेलमा सामेल हुनेहरूले यसको कुनै वस्तुनिष्ठ उत्तर दिन सक्दैनन् । यसको अर्थ केपी ओली प्रधानमन्त्री पदका लागि निर्विकल्प नेता हुन् भन्ने अर्थ नलागोस् । लोकतन्त्र मुखले फलाक्ने मन्त्र होइन । यो त विधिको शासन, मर्यादा र शिष्टताको पद्धति पनि हो ।
यसले राजनीतिक नेतृत्व, नागरिक, मिडिया र समस्त देशवासीबाट मर्यादित र विधिसम्मत व्यवहार अपेक्षा गर्छ । देश विकासको उदात्त लक्ष्य मनमा लिएर मर्यादित समाज समाज निर्माण गर्नु राजनीतिक नेतृत्वलगायत सबैको लक्ष्य हुनुपर्छ । यहाँनेर अमेरिकी राजनीतिज्ञ चाल्र्स पिकरिङ (जन्मः सन् १९३७) को भनाइ उद्धरणीय हुन आउँछ । उनको भनाइ छ, ‘स्वस्थ्य लोकतन्त्रमा मर्यादित समाज आवश्यक हुन्छ । मर्यादित समाजमा मान, उदारता, सहनशील र सम्मानशील व्यवहार अपेक्षित हुन्छ ।’
यमबहादुर दुरा
प्रतिक्रिया