चिनियाँ क्रान्तिका नायक माओले भन्नुभएको छ- युवा भनेको उदाउँदा सूर्य हुन्, हामी अस्ताउँदा सूर्य हौँ। उहाँको भनाईले नै पुष्टि गर्छ कि युवा भनेको के हो र यसको सामथ्र्ये कति छ?
हरेक देशका युवा त्यस देशका पुँजी हुन्। परिवर्तनका वाहक हुन्। क्रान्तिका नाायक पनि हुन्। त्यसैले युवालाई उपेक्षा गर्दै कुनै पनि देश गतिशील बन्न सक्दैन। युवाका अपरिहार्यतालाई त्यस देशले कसरी उपयोग गर्छ त्यो महत्वपूर्ण हुन्छ।
नेपालको सन्दर्भमा पनि राजनीतिक परिवर्तनमा युवाको उल्लेखनीय सहभागिता मात्र होइन अतुलनीय योगदान रहेको छ। प्रजातन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने शहीद गङगालाल श्रेष्ठ जम्मा २२ वर्षका थिए। अरु शहीदहरु पनि युवा नै थिए।
तिनै युवाको वलिदानीबाट हामीले लोकतन्त्र पाएका छौँ। विसं २००७ सालमा नेपाली कांग्रेसले चलाएको सशस्त्र क्रान्तिमा नब्बे प्रतिशत युवा नै थिए। ०४६ सालमा भएको जनआनदोलनमा पनि युवा सहभागिता अधिक थियो। ०५२ देखि तत्कालीन माओवादीले सुरु गरेको १० बर्षे जनयुद्धमा पनि युवा नै हावी थिए।
भनिन्छ, ०६२-६३ को जनआन्दोलनमा पनि युवाको सहभागिता नब्बे प्रतिशत थियो। यसरी हेर्दा राणाकालीन समयदेखि गणतन्त्रको स्थापनासम्म युवाको योगदानले महान् उपलव्धि हासिँल भएका हुन् भन्दा अन्याय नहोला।
निरङ्कुशताविरुद्ध जनताले पटक-पटक सङ्घर्ष र बलिदानी दिदैँ प्रजातन्त्र/लोकतन्त्र ल्याए। विडम्बना प्रजातान्त्रिक अभ्यासमा आइसकेपछि झन् देशको अवस्था बिग्रँदै गयो। अयोग्य, अदुरदर्शी र अपारदर्शी नेतृत्वका कारण देश दिनप्रतिदिन जर्जर बन्दै गइरहेको छ। एकाध व्यक्तिले राष्ट्रको ढुकुटी रित्तो बनाइरहेका छन् भने अर्कोतिर अधिकांस युवाहरु राजनीतिप्रतिको वितृष्णाका कारण विदेश पलायन भएका छन्।
अधिकांश युवा बेरोजगार रहेको यो देशमा रोजगारी पाउनेले पनि अत्यन्त न्युन ज्याला पाउने गरेका छन्। उचित हिसाबले श्रमको मुख्य नपाउँदा धेरैलाई दैनिकी चलाउनै धौ-धौ परेको अवस्था छ। यस्तो अवस्थाका युवालाई पनि अहिले राजनीति लागेको छ कि, कुनै सन्की नेताले राती बाह्र बजे सडक प्रदर्शनका लागि आह्वान गरे पनि विना सर्त उनीहरु कुदिहाल्छन्। सरकारले गरेका कुकृत्यका लागि जनताले विरोधका आवाज उठाइरहेका छन्।
बुद्धिजीवीले पनि भर्त्सना गरिरहेका छन्। तर जनता ग्यास नपाएर पिरोल्लिरहेको बेला युवाहरु तिनै भ्रष्ट नेताको सत्ता जोगाइदिन दिन रात सडक तताउन उद्दत देखिन्छन्। यी युवाहरु न त कर्णालीमा भोकमरी पर्दा सडकमा आउछन् नत झाडापखालाले मधेसमा सयौँ मानिस मर्दा सडकमा निस्कन्छन्। यीनीहरुलाई रुकुमको नरसंहारले पनि छुदैन। जब नेताको कुर्सी हल्लिन के थाल्छ, तब यीनीहरु भोक, निद्रा, जाडो, गर्मी केही नभनी सडकमा निस्किहाल्छन्।
आज राजनीतिको कुचक्र यति पेचिलो बन्दै गएको छ कि, जनताले पटक–पटकको सङ्घर्ष र बलिदानीबाट ल्याएको गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतासहितको संविधान नै पूर्ण खतरामा परेको छ। बहुमतको सरकारलाई कहीँकतै संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन। सन्की प्रधानमन्त्रीले जनताको अभिमतलाई कुल्चिदै संसद विघटनजस्तो कुकृत्य गरिदिए। उदेक लाग्दो कुरा त यो छ कि, लोकतन्त्र नै खतरामा पार्ने यो कार्यको पक्षमा केपी वली जिन्दावाद भन्दै युवाहरु सडकमा होमिएका छन्।
यी युवा नपढेका होइनन्। धेरैका हातमा डिग्री-ग्रायजुएटका प्रमाणपत्र छन्। सर्वसाधारण जसले पढेका छैनन्, उनीहरुले छुट्याउन सक्ने गल्तीलाई पनि यी मास्टर-डिग्री पढेका युवाले नदेख्दा कतै हामीले दिइरहेको शिक्षाले व्यक्तिलाई फट्याई, धुत्र्याई र मूख्र्याई गर्न त सिकाइरहेको छैन? शिक्षामै पुनर्संरचना गर्नु पर्ने त होइन? भन्ने वहसलाई फेरी सतहमा ल्याइदिएको छ।
होइन भने बुद्धिजीवीसमेत कहलाइएका यी युवाहरु यस्तो कुकृत्यको पक्षपाती कसरी बन्न सके ?
संविधान कागजी खोस्टो मात्र होइन। भोली लोकतन्त्र नै खतरामा पर्यो र गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता जस्ता प्राप्त उपलब्धि गुमे भने यी युवालाई के फाइदा होला? यस्तो कदमको निर्लज्ज साथ किन दिइरहेका होलान्? यो त आमालाई पोइल पठाएर जारी असुल्न खोजेको जस्तो भएन र?
सत्ताको लड्डुको गन्धले मत्त भएका केही व्यक्तिका पछाडि युवावर्ग गन्धमात्र सुँघ्नका लागि विवेकशून्य हुनु सामाजिक अपराध होइन र? आज सिंगो देश एउटा सन्की प्रधानमन्त्रीका कारण धरापमा छ। प्रधानमन्त्रीलाई लागेको छ, म नै राज्य हुँ। यदि म रहन्न भने यो देश पनि रहन हुन्न।
प्रधानमन्त्रीलाई कुनै बेला यो देश नै आवश्यक नलागेर विघटन गरौँ भन्देलान् रे, के त्यति बेला पनि यी युवा प्रधानमन्त्रीसँगै सती जान मिल्छ? होइन भने खोइ त जनताको पक्षमा बोलेको? प्रतिगमन र निरङ्कुशताविरुद्ध किन ननिस्केको सडकमा? केले रोक्यो सत्यकाे पक्षमा बोल्न? केले छेक्यो सत्यकाे पक्षमा उभिन?
त्याग, निष्ठा, बलिदान र सुन्दर सपनाका प्रतिमूर्ती युवा देशका उदयमान शक्ति हुन्। उनीहरुको नशा नशामा क्रान्तिकारी र परिवर्तनकारी ऊर्जा बग्नु पर्ने हो। सामाजिक यथास्थितिबाट माथि उठ्दै राष्ट्र रुपान्तरणको महाअभियानमा लाग्नु पर्ने हो।
लामो सङ्घर्ष र बलिदानी गरेर आएका लाखौँ कार्यकर्ताहरु इतिहासमा असफलसिद्ध तिनै भ्रष्ट, अयोग्य र असक्षम नेतृत्वसँग विना सर्त सती जान तयार हुनुको अर्थ के हो?
अमेरिकाको संविधान लागू गर्न ३० वर्षे अलेक्जेण्डर, ३६ वर्षे हेमिल्टन र ४२ वर्षे जेम्स मेडिसनले अथक भूमिका खेलेका थिए। युवा नै संविधान लागू गर्न मरिमेटी लागेकाले होला त्यो विश्वकै उत्कृष्ठ संविधान मानिएको छ। यहाँ पनि युवाको भूमिका संविधान लागू गर्न, सुशासन कायम गर्न र स्वाभिमान जोगाउन हुनु पर्छ। निरङ्कुशतावादीको पाउ मल्न होइन।
सरकारले जे गरे पनि वाह–वाही गरिरहने हरिलट्ठक कार्यकर्ताको भक्तिभावले प्रधानमन्त्री र राष्ट्रपतिलाई जनताका उपलब्धिमाथि धावा बोल्दै सर्वसत्तावाद लाग्न उत्प्रेरणा मिलिरहेको छ।
प्रतिक्रिया