लेटेस्ट न्युज
advertisement1

सत्तारुढ दल नै सडकमा उत्रदै, उल्टो बाटो एमाले

Maryada News 2025-04-23 09:52:55
सत्तारुढ दल नै सडकमा उत्रदै, उल्टो बाटो एमाले

काठमाण्डू, सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) यही बिहीबार अर्थात् ११ वैशाखमा राजधानी काठमाडौंमा सडक कार्यक्रम गर्दैछ ।

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले ‘युवा सेलिब्रेसन’ नामक कार्यक्रम गर्ने तयारी गरेको हो ।

हाल सत्तामा रहेको एमाले गत वर्षको अन्त्यतिर देखिएका आन्दोलन र प्रदर्शनहरूसँगै अहिले पनि जारी विभिन्न सडक गतिविधिहरूको भीडमा आफू पनि मिसिन खोजिरहेको छ ।

पार्टीले ११ वैशाखलाई जनताले जितेको दिनको रूपमा व्याख्या गर्दै त्यस दिनलाई विशेष कार्यक्रमसहित मनाउने बताएको छ ।

एमालेका नेताहरूका अनुसार युवाहरूमाझ लोकतान्त्रिक गणतन्त्रको महत्व र त्यसका लागि जनताले गरेको संघर्ष बुझाउन नसकिँदा युवालाई ‘प्रतिक्रियावादी शक्तिहरू’ले बराल्न खोजेका छन् ।

त्यसैले नयाँ पुस्तालाई राजनीतिक इतिहास र योगदानबारे जानकारी गराउन कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

पार्टी कार्यालयका अनुसार काठमाडौंमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने छन् ।

तर, आफैं सरकारको नेतृत्व गरिरहेको पार्टीले जनतालाई ‘बुझाउन’ सडक रोज्नु परेको कुराले प्रश्न उठाएको छ ।

यसअघि गत मंसिर ७ गते एमालेले दरबारमार्गमा ‘जागरण सभा’ आयोजना गरेको थियो ।

सो कार्यक्रमलाई पनि शक्ति प्रदर्शनको रूपमा लिइएको थियो, जसको औचित्यमाथि धेरैले आलोचना गरेका थिए ।

तत्कालीन जागरण सभामा मुलुकमा बढ्दो अराजकता, अस्थिरता, सामाजिक असहिष्णुता, सुशासनको अभावलगायतका विषयमा जनमत निर्माण गर्ने दाबी गरिएको थियो ।

तर, उक्त सभा अन्ततः नेताहरूको ‘प्रष्टीकरण’ दिने कार्यक्रममै सीमित भएको आरोप लागेको थियो ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेको सरकारलाई बनेको करिब १० महिना पुगिसकेको छ ।

दुई तिहाइको समर्थन पाएको शक्तिशाली सरकार बने पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आलोचना सरकारभित्रैबाट हुन थालेको छ ।

विपक्षी दलहरूमात्र होइन, एमालेभित्रकै केही नेताहरूले पनि सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् ।

यस्तो समयमा प्रतिपक्षी मात्र होइन, सत्तारुढ एमालेले पनि बहानावश सडकमा कार्यक्रम गर्दै आइरहेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले जनताले जितेको दिन ११ वैशाखमा युवाले भविष्य निर्माणको संकल्प गर्ने दिन भएको जनाएका छन् ।

‘नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्व स्थापित गर्ने योजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूमा युवाको सहभागिता गराइनेछ,’ महासचिव पोखरेलले भने, ‘पार्टीले तय गरेको कार्यक्रमलाई ऐतिहासिक बनाउन देशभरका युवाको सहभागिता आवश्यक रहेकाले राजधानी आउने अन्तिम र व्यवस्थित तयारी भइरहेको छ ।’ भृकुटीमण्डपमा हुने सो कार्यक्रममा नयाँ पुस्ताले एकदमै नयाँ अनुभव गर्ने उनको भनाइ छ ।

‘युवालाई भृकुटीमण्डपभित्रै सबै कुरा दिने योजना हामीले बताएको छौँ, यो कार्यक्रम पुरानो शैलीको कार्यक्रमभन्दा बिलकुल फरक शैलीको कार्यक्रम हुनेछ ।

यो सेलिब्रेसनलाई युवाको अनुहार हेर्ने सेलिब्रेसनको रूपमा मनाउने छौँ,’ महासचिव पोखरेलले भने ।

एमालेले आगामी युवा सम्मेलनका लागि काठमाडौंमा करिब एक लाख युवा उतार्ने घोषणा गरेको छ ।

यसले राजधानीका सडकहरूमा पनि अव्यवस्था र ट्राफिक जामको समस्या थपिदिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

पछिल्लो समय काठमाडौंमा राजावादी आन्दोलन, राप्रपाको प्रदर्शन, सहकारी पीडित र शिक्षक आन्दोलन लगायतका कारण सवारी आवागमनमा निकै समस्या उत्पन्न भएको छ ।

यी समस्या समाधान गर्नको सट्टा, प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आगामी सम्मेलनका लागि सडकमा एक लाख युवा उतार्न तयार भएको छ ।

सर्वसाधारणका लागि यातायात अवरुद्ध हुनु, थप समस्या बन्ने संकेत दिएसँगै राजनीतिक विश्लेषकहरूले सत्ताधारी दल एमालेलाई उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरेका छन् ।

विश्लेषकहरूका अनुसार, सरकारका ध्यान केन्द्रित गर्ने मुख्य विषय सत्ताधारी दलका कार्यक्रमहरूको प्रभावकारिता र जनतासँगको वास्तविक संवाद हुनु आवश्यक छ, तर सडकमा प्रदर्शन गर्दै यसलाई समाधान गर्न सकिनेछ भन्ने अवस्था देखिँदैन ।

‘सत्तामा रहेको दल सडकमा आएर हामीले लाखौं मान्छे उतार्छौँ भन्न आवश्यक छैन । सरकार उल्टो बाटोतर्फ हिँडिरहेको छ ।

आफू सत्तामा रहेको पार्टी एमालेले शिक्षक, चिकित्सक तथा निजामती कर्मचारीका मागलाई सम्बोधन गरेर समाधान गर्नुपर्ने अवस्था हो,’ राजनीतिक विश्लेषक सुदर्शन आचार्य भन्छन्, ‘यति धेरै विषयवस्तु छरपस्ट रहेको अवस्थामा आफू नै सडकमा आएर भेला, आयोजना गर्नु उचित होइन ।

एउटा प्रदर्शनको जवाफ अर्को प्रदर्शन गरेर दिन आवश्यक नै छैन । सरकारको काम भनेको जनतालाई, पेशाकर्मीहरूलाई अनुभूति हुने गरी काम गरेर जवाफ दिने हो ।

जुन काम गर्न अहिलेको सरकार चुकिरहेको अवस्था छ ।’ उनका अनुसार पछिल्लो समय विभिन्न दल तथा पेसाकर्मीले सडकमा आएर आन्दोलन गरिरहेको अवस्था छ ।

अहिलेको सरकारले उनीहरूका माग के हुन्, मागको मनोवैज्ञानिक अध्ययन गरेर संविधानले निर्दिष्ट गरेको अधिकारभित्र रहेर ती मागहरूलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ ।

पछिल्लो समय काउन्टर पार्टको रूपमा कहिले कुन पार्टी, कहिले कुन धारले सडकमा प्रदर्शन गरिरहेका छन् ।

यो कसैका लागि पनि सकारात्मक बाटो होइन । यसले जनतामा चरम निराशाको वातारण उत्पन्न गर्ने उनको भनाइ छ ।

शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवा राजधानी उतार्ने योजनाअन्तर्गत एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ ।

तयारीकै निम्ति महासचिव पोखरेलको संयोजनमा केन्द्रीय मुख्यालय च्यासलमा दिनहुँजसो बैठक बसिरहेको छ ।

एमालेका नेताहरूले गणतन्त्रको सुदृढीकरण र पार्टी नेतृत्वको रक्षार्थ देशभरका युवालाई सडकमा उतार्ने आवश्यकता परेको बताएका छन् ।

पार्टीका नेताहरूले युथ सेलिब्रेसनको औचित्य प्रस्ट्याउने काम सामाजिक सञ्जाल, अन्तवार्ता र तयारी बैठकहरूमार्फत गरिरहेका छन् ।

तर, सरकारका कामको समीक्षा गर्दा विश्लेषकहरूले भने सरकारले अहिले गम्भीर कामहरू गर्नुपर्ने अवस्थामा सत्तामा रहेको दल सडकमा निस्किरहेको छ भन्ने आलोचना गरेका छन् ।

उनीहरूको भनाइ अनुसार, वर्तमान सरकारमा रहेर सुशासनको प्रत्याभूत गर्ने जिम्मेवारी मुख्य हो, जुन काम सरकारले नगरी सडकमा उत्रनु स्वाभाविक ठहर्याउन सकिन्न ।

एमालेले आन्दोलनका बहानामा सत्तामा रहेर पनि सडकमा निस्किनुपर्ने अवस्था भित्रिरहेको छ, जसको प्रभाव जनतामा असन्तोष पैदा गर्ने सम्भावना बढेको विश्लेषकहरूको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्