इटहरी, इटहरीको तरहरामा यही शुक्रवार (वैशाख १२) गते हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १० वटा कविता छनोट भएका छन् ।
कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरिएको हो ।
निर्णायक समितिले मूल्याङ्कन गरी मङ्गलबार छनोट भएका कविता सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका कविहरूमा सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न,’ रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख,’ खोटाङका शुभचन्द्र राईको ‘आशा,’ गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ सिराहाका अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र,’ दैलेखका दीपीन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कविता अन्तिम १० छनोटमा परेका छन् ।
आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिनेछ ।
यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ ।
छनोट भएकामध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने उनले जानकारी दिए ।
समूहले यसअघि चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरेको थियो । समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नेपालमै सबैभन्दा बढी राशिको प्रतियोगिता भएको दाबी गरिएको छ ।
सोही कार्यक्रमको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका आठ जनालाई सम्मान गरिने तयारी छ ।
वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथिको रूपमा आउनेगरी तयारी पूरा भएको आयोजकले जनाएको छ ।
छनोट भएका कविहरूलाई वैशाख ११ गते बेलुकासम्म तरहरामा उपस्थित हुनसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया