काठमाडाैंः वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औँ बुद्धजयन्ती, आज विश्वभरका बाैद्ध धर्मावलम्बीहरूद्वारा मनाइँदै छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन्।
यस वर्ष काेराेना महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरूले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन्।
यद्यपि आज बुद्ध जन्मिएकाे मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरूले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ।
यस्तै आज किँरात धर्मावलम्बीहरूकाे चाड उभाैली पनि परेकाे छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ।
नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइँ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको राईले बताए।
यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ। किराँत समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्।
यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्घशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्।
प्रतिक्रिया