जनकपुर, तराई मधेश क्षेत्रका मिथिला बासिन्दाले आज परम्परागत जुडशीतल पर्व श्रद्धा र उत्साहका साथ मनाइरहेका छन् ।
विक्रम संवतको नयाँ वर्षको सुरुवातमा मनाइने यो दुईदिने पर्वलाई पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल’ भनिन्छ । यद्यपि सतुवाइनलाई पनि जुडशीतल पर्वकै अङ्ग मानिन्छ ।
पर्वको पहिलो दिन, वैशाख संक्रान्तिमा, सातथरि अन्न (जौँ, चना, मकै, कँगनो, गहुँ, चामल र मुँग) को सातु र माटोको अङ्खरामा बनाइएको सक्खर मिसाएको सर्वत कूलदेवतालाई चढाइन्छ ।
त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान दिने र बाँकी आफन्तजनसँग खाने परम्परा रहेको छ ।
पर्वको दोस्रो दिन, घरका ज्येष्ठ सदस्यहरूले कुटुम्बका साना सदस्यहरूलाई शिरमा पानी छर्केर आरोग्यता, चिसोपन र दीर्घायूको आशीर्वाद दिने चलन छ ।
मिथिला क्षेत्रका गन्तव्य पर्वहरूमध्ये जुडशीतललाई कूलदेवता आराधना गर्ने महत्वपूर्ण अवसरका रूपमा मानिन्छ ।
यो पर्वमा पकाइने सम्पूर्ण परिकार पहिले कूलदेवतालाई चढाइन्छ । गर्मी मौसमको शरीरलाई स्वस्थ राख्न जुडशीतलमा दही, चनाको सातु, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी, दहीमा पकाइएको कढीबरी, काँचो केरा, लौका र परवलसहितका परिकार अनिवार्यझैँ बन्ने गर्छन् ।
मैथिल लोकसंस्कृतिका जानकार, पूर्वप्रशासक तथा साहित्यकार जलेश्वर बखरीका ८७ वर्षीय महेश्वर रायका अनुसार नयाँ वर्षले जीवनमा चिसोपन, सन्तुलन र सुस्वास्थ्य ल्याओस् भन्ने कामना बोकेको यो पर्वमा सुपाच्य र पोषणयुक्त परिकारहरूको विशेष स्थान रहन्छ ।
सहकाल र समृद्धिको प्रतीक मानिने जुडशीतल पर्वमा अनुकूल वर्षाको कामना गर्दै आज मध्यान्ह स्थानीयहरू साथीभाइसँग धुलो, माटो र हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने तयारीमा छन् ।
साथै खेतबारीका रुखबिरुवामा पानी सिञ्चेर वर्षभरि हरियाली र उत्पादनमा कमी नहोस् भन्ने आशय व्यक्त गरिन्छ ।
मिथिला क्षेत्रका सबै जातजातिले समान उत्साहका साथ मनाउने यो पर्व आपसी सद्भाव, एकता र सहयोगको सन्देश बोकेको छ ।
बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा भन्छन्, ‘नयाँ वर्षले खेतीपाती र जीवनमा अनुकूलता ल्याओस् भन्ने आशयले जुडशीतल मनाइन्छ ।’
प्रतिक्रिया