एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू/कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरेबियाको भ्रमण छोट्याउने निर्णय गरेका छन् ।
उनी आज (बुधबार) राति भारत फर्कने छन् ।
यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतङ्ककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई स्थानीय नागरिक र एक नेपाली र एक यूएईका नागरिक रहेका छन् ।
नेपाली नागरिको नाम सन्दीप न्यौपाने रहेको छ । आक्रमणबाट थप ३६ जना घाइते भएका छन्।
यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।
यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
प्रतिक्रिया