काठमाडाैंः विवेकशील साझा पार्टीले युवा संगठनकाे समायाेजन सम्पन्न गरेकाे छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन गर्दै विवेकशील साझा युवा संगठन नामकाे संगठन समायाेजन भएकाे हाे।
नव गठित संगठनका संयाेजकमा अब्दुस मियाँ रहेका छन्। यस्तै यसअघिका दुवै पार्टीका तर्फबाट समानताका आधारमा ६ जना पदाधीकारी, २८ जना केन्द्रीय सचिवालय र ६६ जना केन्द्रीय समिति सदस्य रहनेछन्।
प्रदेश र जिल्ला समितिहरू पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने बताइएकाे छ। यस्तै नव गठित संगठनकाे आगामी असाेजमा प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजन प्रति खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरूलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए। उनले यस समायोजनले युवा संगठनलाई देशव्यापी विस्तार गर्न, सुसंस्कृत राजनीति र कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इँटा थप्ने विश्वास व्यक्त गरे।
दलका संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताए।
प्रतिक्रिया