काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समयावधि दिएका थिए । पाण्डेले प्रदेशका ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका थिए । पाण्डेलाई गठबन्धन दलका सांसदको समर्थन छ ।
यसैबीच, मुख्यमन्त्री पाण्डेले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । शपथको तयारी भइरहेको छ । उनीसँगै नेपाली कांग्रेसका प्रदेशससभा सदस्य कृष्ण भँडेल, नेकपा (एकीकृत समाजवाद)का कृष्ण खनाल र नेकपा (माओवादी केन्द्र)का सांसद् कुमारी मोक्तानले मन्त्री पदको शपथ लिँदै छन् ।
वाग्मती प्रदेशमा नयाँ बन्ने मन्त्रिमण्डलका सदस्यले अहिले केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
आज मुख्यमन्त्रीसँगै गठबन्धनका प्रत्येक दलबाट एक÷एकजनाले मन्त्रीको रूपमा शपथ लिनेछन् । नेपाली कांग्रेसबाट कृष्णलाल भँडेलले भौतिक पूर्वाधारमन्त्रीको रूपमा शपथ लिनेछन् । यस्तै, नेकपा (माओवादी केन्द्र)बाट कुमारी मोक्तानले अर्थमन्त्रीको रूपमा शपथ लिने पक्का भएको छ ।
नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनालले सामाजिक विकासमन्त्रीको रूपमा शपथ लिने बताइएको छ ।
प्रतिक्रिया