काठमाडौँ : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । १७ जना गम्भीर र छ जना सामान्य घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ वटा छन् । यस्तै जीप, कार दुई, ट्रयाक्टर एक र बस एक छन् ।
चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ । साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया