काठमाडौं : चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ । चितवनले यसअघि विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ लाई पराजित गरेको थियो भने अब ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग खेल्न बाँकी छ ।
उता तेस्रो खेल खेल्दा पोखराको यो पहिलो हार हो । अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद र भिम शार्कीले शतकीय साझेदारी गरेपछि पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा ग-यो ।
दुवैले अर्धशतक प्रहार गरे । शाहाजाद र शार्कीले दोस्रो विकेटका लागि अविजित १२२ रनको साझेदारी गरे ।
ओपनर इशान पाण्डे ७ बल खेलेर खाता नखोली दोस्रो ओभरमा आउट हुँदा चितवनको स्कोर जम्मा २ रन थियो । त्यसपछि शाहजाद र भिम शार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चितवनलाई जित दिलाए ।
शाहजादले ५२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै शार्कीले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए ।
पोखराका विक्रम सोबले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
प्रतिक्रिया