काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा मंगलबार (आज) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
मंगलबारको खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ । नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । जुन खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
त्यस्तै नेपाल मंगलबार छनोट सम्भावना जोगाइ राख्ने योजनामा हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिमलाई मंगलबारको खेलमा केही दबाब भने पक्कै हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबारको खेलमा सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । समूह ‘एफ’मा रहेको नेपालले आफ्नो जित र फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्ने हुन्छ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । यसअघि नेपाल हंङकङसँग भएको दुबै खेलमा पराजित भएको छ ।
प्रतिक्रिया