काठमाण्डू, विभिन्न सहकारीको रकम हिनामिना गरी फरार भएका गितेन्द्रबावु राई (जीबी)ले विदेशी राहदानी लिएको खुलासा भएको छ ।
जिल्ला अदालत कास्कीले मंसिरमा राईको राहदानी रोक्का गर्न राहदानी विभागलाई पत्राचार गरेपछि विभागले राईको नेपाली राहदानी रोक्का गरेको थियो ।
नेपालबाट भागेर मलेसिया पुगेका राईलाई पक्राउ गर्न मलेसियाली सरकारले आनाकानी गरेपछि त्यहाँबाट भागेर प्रशान्त महासागरीय देश भानुआतु पुगेका राईले १ लाख ३३ हजार अमेरिकी डलर खर्च गरेर त्यहाँको राहदानी लिएको पाइएको हो ।
प्रशान्त महासागरको टापु देश भानुआतुले १ लाख ३३ हजार डलरमा विश्वका कुनै पनि देशका नागरिकले राहदानी लिन चाहे दिने व्यवस्था गरेको छ ।
त्यसको फाइदा उठाउँदै राईले भानुआतुको राहदानी लिएर विभिन्न मुलुकको भ्रमण समेत गरिसकेको पाइएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा राईको संलग्नता रहेको विषयमा अनुसन्धान हुँदै आएपनि राई हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
उच्च अदालत तुलसीपुर दाङले पुर्पक्षमा थुनामा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका व्यावसायिक साझेदार समेत रहेका राईले विदेशी राहदानी लिएर आफूलाई सुरक्षित गराएको पाइएको ती उच्च सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
भानुआतु यस्तो देश हो त्यहाँ २ लाख ५० हजार अमेरिकी डलर तिर्ने व्यक्तिलाई त्यहाँको सरकारले वैैधानिक रूपमा नाम परिवर्तन गरेर राहदानी उपलब्ध गराउने गरेको छ ।
भानुआतु देशको राहदानीधारीलाई विश्वका ९० भन्दा बढी देशले अनएराइभल भिसा उपलब्ध गराउने गरेको छ ।
भानुआतुको राहदानीधारी नागरिकलाई नेपाल, भारत, वंगलादेश, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका दक्षिण पूर्वी एसिया तथा विश्वका शक्तिशाली देशले अनएराइभल भिसा दिने गरेको छ ।
राईले आफ्नै नाममा उक्त देशको राहदानी लिएर अहिले सुरक्षित रूपमा विभिन्न देशको भ्रमण गर्ने गरेको पाइएको पनि ती सुरक्षा अधिकारीले जानकारी दिए ।
सन् १९८० जुलाई ३० मा फ्रान्स र बेलायतबाट स्वतन्त्र भएको भानुआतुले सन् १९८१ सेप्टेम्बर १५ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो ।
सुरक्षा निकायले अहिले राईले प्रयोग गरेको राहदानीको विस्तृत विवरण खोजिरहेको छ । त्यो पाउनसाथ कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भइरहेको ती सुरक्षा अधिकारीले दाबी गरे ।
फरार रहेका राईको पछिल्लो अवस्थाको बारेमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आर्चायले नेपाल प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको जानकारी दिँदै विदेशी राहदानी लिएको बारेमा आफूलाई जानकारी नभएको बताए ।
हामीले राईलाई खोजीरहेका छौँ । अहिलेसम्म राईको बारेमा थप सूचना आएको छैन डिआईजी आचार्यले भने ।
फरार रहेका राई र उनको समूहले विभिन्न सहकारीबाट १६ अर्बभन्दा बढी रकम दुरूपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाएको पाइएको थियो ।
राई कुनै समय नेपालकै सबैभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए ।
सो कम्पनीमा रहेकै बेला राईले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेका थिए ।
सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगाएपछि राईले नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब दर्जन सहकारी संस्था सञ्चालनमा ल्याएका थिए ।
गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालनमा ल्याएको बताएका थिए ।
सो समूहले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी संचालनको शुरूवात गरेको थियो ।
३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंको अध्यक्ष जिबी राई आफैँ हुन् भने कुमार रम्तेल कोषाध्यक्षको रूपमा रहेका थिए ।
उपत्यकाबाहिर बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहले संचालन गर्दै आएको थियो ।
प्रतिक्रिया