काठमाण्डू, नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ ।
आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरू यही चैत २० गतेदेखि आन्दोलित छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए ।
महासङ्घले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम(गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सरकारमाथि विश्वास गरेर शिक्षकहरू शान्तिपूर्ण प्रदर्शनमा आएको बताएका थिए ।
‘सरकारले आवाज सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ, हामी कुराकानी पनि गर्छौँ, सरकारले उहाँहरूका कुरा सुन्छ, उहाँहरू न सरकार विरोधी न हामी उहाँहरू विरोधी हो,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सबै हामी एउटै हो, के–कति गर्न सकिन्छ, के–कस्तो गर्नुपर्ने हो भन्ने कुरा परस्परमा बसेर सरसल्लाह र छलफल गरेर टुङ्ग्याउनुपर्छ, सरकारले कुनै पनि नकारात्मक राख्दैन, किन राख्नुपरेको छ रु समस्या टुङ्ग्याएर फर्किनुहुन्छ ।’
प्रतिक्रिया