काठमाडाैंः नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशघाती जाेडीकाे संज्ञा दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत नेता थापाले प्रधानमन्त्री र राष्ट्रपतिले महामारीमा अधर्म गरेकाे भन्दै देशघाती जाेडीकाे संज्ञा दिएका हुन्।
थापाले लेखेका छन्- 'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्।'
उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई संविधान र संसद दुवै मन नपरेकाे भन्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीकाे मिसन संसद र संविधानकाे हुर्मत लिनु मात्रै रहेकाे समेत बताएका छन्।
नेता थापाले लेखेका छन्- 'खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए!'
उनले राष्ट्रपति र प्रधानमन्त्रीकाे निर्लज्ज कामकाे सम्पूर्ण शक्तिसाथ प्रतिराेध गर्न पनि आह्वान गरेका छन्।
प्रतिक्रिया