काठमाण्डू, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ ।
आइतबार काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले कम्पनीले आईएसओ ९००१–२०१५ गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरेको हो ।
बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए ।
काठमाण्डूमा कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्रमाणपत्र ग्रहणका लागि कार्यकारी निर्देशक पोखरेलले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्डहरु पालना गर्न भिजन लुम्विनी प्रतिवद्ध रहेको बताएका थिए ।
धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शीता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाई थियो ।
कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी उर्जा कम्पनीले झै सबै उर्जा कम्पनीहरुले यस्तो प्रमाणपत्र लिनु पर्नेमा जोड दिए ।
उर्जा कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने उर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरुलाई न्यूनिकरण गर्न सहयोग गर्ने उनको भनाई थियो ।
अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नेगरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताएका छन् ।
उनले अन्तर्राष्टिय गुणस्तर चिन्ह र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हुदैन भन्ने सुनिश्चिता भएको उल्लेख गरे ।
कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मुल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरिले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मुल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिएका थिए ।
भिजन लुम्बिनी उर्जा कम्पनी सेतीखोला जलविद्यूत परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोध विना काम सम्पन्न गरेको लगायतका विषेशता भएको कम्पनीको रुपमा चिनिदै आएको छ ।
प्रतिक्रिया