काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज साेमबार विश्वासको मत लिँदै छन्। प्रतिनिधि सभाकाे आह्वान गरिएको विशेष अधिवेशनमार्फत प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिने भएका हुन्।
दिउँसो १ बजेपछि बस्ने बैठक र मतदान प्रक्रियाले सरकारकाे भविष्य तय गर्ने छ। संसद सचिवालयले मतदानका लागि काेराेना सङ्क्रमित सांसदहरूलाई पनि विशेष व्यवस्था गरेकाे जनाएकाे छ।
हालसम्मकाे अंक गणितअनुसार प्रधानमन्त्रीले आज विश्वासकाे मत पाउने छैनन्। हाल प्रतिनिधि सभामा कायम २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत आवश्यक हुन्छ। १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्री पदमुक्त हुनेछन्।
हाल प्रधानमन्त्रीकाे दल नेकपा एमालेसँग १२१ सांसद छन्। नेपाल कांग्रेससँग ६१ सांसद छन्। कांग्रेसले विश्वासकाे मत नदिने बताइसकेकाे छ। त्यस्तै ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै सरकारलाई दिएकाे समर्थन फिर्ता लिइ सकेकाे छ।
यस्तै निर्णायक बन्न सक्ने ३२ सांसद भएको जसपा पनि मत विभाजन हुनेछ। जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूह यसअघि नै ओलीको विपक्षमा उभिने बताइसकेका छन्। महन्थ ठाकुर-राजेन्द्र महतो समूहले पनि ठाेस निर्णय गरिहालेकाे अवस्था छैन।
यता एमालेकै झलनाथ-माधव समूह नै ओलीसँग रुष्ट छ। झलनाथ-माधव समूहले ओलीलाई मत दिए पनि विश्वासकाे मत प्राप्त गर्न थप १५ मत अपुग हुनेछ।
प्रतिक्रिया