दैलेखः सयौंँ विद्यार्थी बिरामीले थला पर्न थालेपछि नवदुर्गा निमावि तीन दिनका लागि बन्द गरिएकाे छ। जिल्लाकाे नारायण नगरपालिका–५ मा रहेकाे विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हाे।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काम्ने जस्ता लक्षण विद्यार्थीमा देखा पर्न लागेपछि मङ्गलबारदेखि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले बताए। उनका अनुसार आइतबार करीब एक सय ५०, सोमबार करीब एक सय र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा विद्यालय बन्द गरिएको हो।
विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली पुगेर स्वास्थ्य परीक्षण गरेकाे थियाे। विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको प्रअ रेग्मीले बताए।
बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले जानकारी दिए। उनले याे महामारी नभई भाइरल ज्वरो भएकोसमेत बताए।
विद्यार्थी मात्र नभई नारायण –५ छातीकोटका धेरैजसो बिरामी परेको जनाइएको छ। टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए।
प्रतिक्रिया