लेटेस्ट न्युज
advertisement1

नेपाल भाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

Maryada News 2021-03-01 09:02:38
नेपाल भाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

काठमाडौँ : स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि काठमाडौँ महानगरपालिकाले शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ। 

पहिलो चरणमा कामपाले वडा २२ का ३० शिक्षकलाई यस किसिमको प्रशिक्षणमा सहभागी गराएको छ। नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालले पाठ्यपुस्तकमा महानगरको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताए।

पाठ्यपुस्तकमा काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय पनि समेटिएका छन्। उनका अनुसार बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्गमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ। त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

कामपाले आधारभूत कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो। अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ। सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्यरुपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ।

आगामी शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागु गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ। यसका लागि महानगरले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ।

यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ। अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने तयारी गरिएको हो। संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्