दैलेखः एक महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्। साेमबार महिला दिवसकै दिन आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।
ती मध्ये दुई छोरीको शव अछाममा भेटिएको छ। अन्य एक छाेरा, एक छाेरी र आमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएकाे छ।
भेटीएका दुई शव १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको रहेकाे बताइएकाे छ। अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा उनीहरूकाे शव भेटिएको हाे।
आमा सुकी, १० वर्षीय छाेरा ललित बडुवाल र पाँच वर्षीया छाेरी रजनी बडुवालको शव भने हालसम्म भेटिएको छैन। उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले बताएकाे छ।
माइत जाने भन्दै सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए। केही स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताएका छन् भने प्रहरीले घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ।
सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिनहुँ मदिरा सेवन गरि श्रीमतीसँग झगडा गर्ने गरेको स्थानीयले बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रतिक्रिया