काठमाडौं: काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जिप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–६ हात्तीसारमा बिहीबार(आज) बिहान जिप दुर्घटना हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको र एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय रापेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले बताए ।
मृत्यु हुनेमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका ११ वर्षीय छोरा दावा शेर्पालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
तीव्र गतिमा आएको जीप साँघुरो सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया