काठमाडौं : नेपाली काँग्रेसले काठमाडौं नछाड्न सांसदहरुलाई निर्देशन दिएको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन दिइएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।
कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुगेका छन् । पछिल्लो पटक नेकपाको प्रचण्ड-माधव पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेससामु प्रस्ताव राखेको छ । चितवनमै रहेका कांग्रेस शीर्ष नेताहरूबीच यस विषयमा छलफलसमेत हुने जनाइएको छ ।
प्रतिक्रिया