काठमाडौँ : मार्क्सवादी लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ आज सार्वजनिक भएको छ । जनता सञ्चारगृहले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताद्वय घनश्याम भुसाल र पम्फा भुसालले आज सो पुस्तक सार्वजनिक गरिन्।
सोही अवसरमा नेकपाका नेता कृष्ण केसीले लेखेको ‘जनता’ नामक पुस्तक पनि सार्वजनिक गरियो । कार्यक्रममा अध्यक्ष दाहालले ज्ञानको उच्चतम संयोजनबाट नै सहज रुपमा राज्य र पार्टी सञ्चालन हुने बताए। उनले किशोर, युवा र वृद्ध तीनवटै उमेर समूहको समुचित सन्तुलनसहितको पार्टी जरुरी रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री दाहालले जनपक्षीय नेतृत्व ज्ञान हासिल गरेको र त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएको हुनुपर्ने र कसैलाई पार्टीको नेतृत्व गर भनेर उभ्याइ दिँदैमा त्यसले गर्न नसक्ने बताए । कार्यक्रममा नेता घनश्याम भुसालले माथिल्लो तहदेखि स्थानीय तहसम्म समाजवादका एजेण्डा राखेर मानिसको सोचाइको स्तरमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गरे ।
अर्का नेत्री पम्फा भुसालले युवा, प्रौढ र अनुभवशील नेता भएको पार्टी मात्र परिपक्व हुने धारणा व्यक्त गरे । उनले समाज परिवर्तनका लागि सही ज्ञान, सोचाइ र विचारसहितको नेतृत्वको आवश्यक पर्ने स्पष्ट पारे ।
नेकपाका केन्द्रीय सदस्य एवं सञ्चारगृहका अध्यक्ष डा विजयकुमार पौडेलले समाजमा देखिएका भ्रष्ट मानसिकताका विरुद्ध सबैको साथ र सहयोग रहनुपर्ने बताए । कार्यक्रममा लेखकद्वय उपाध्याय र केसीले आआफ्नो पुस्तकका बारेमा जानकारी दिएका थिए ।
तस्बिर : सौजन्य जनतासमाचार डटकम
प्रतिक्रिया