डाेल्पाः जिल्लाकाे काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति चाेरी भएका छन्। मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए।
उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै स्थानीयमा चिन्तासमेत बढेकाे छ। तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति चाेरी भएकाे हुन सक्ने अध्यक्ष लामाले शंका व्यक्त गरेका छन्।
चैत २४ गते स्थानीयले मन्दिरमा पूजा गरेर फर्किएकाे र पुनः मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए।
मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिएका छन्। बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले बताएका छन्।
यसपटक चाेरी भएकाे मूर्ति पुरातात्विक र धार्मीक हिसावले महत्वपूर्ण रहेकाे बताइएकाे छ।
प्रतिक्रिया