लेटेस्ट न्युज
advertisement1

परदेशीको पीडा

Maryada News 2021-05-18 18:17:49
परदेशीको पीडा

ओहो आज त तलब आउने दिन
खै ! खुसी हुनु पनि बेकार नै छ
आएको भन्नु मात्र
खेतको गह्राबाट मुसाले पारेको भ्वाङहरु

चपरीले टाल्दाटाल्दै पनि 
पानी चुहिए जस्तै गरेर
खाताबाट नै चुहिएर रित्ती पो सक्यो त !
अझै कत्ति भ्वाङ टाल्न त बाँकी नै छ !

कति सपनाहरु बोकेर उडेको थिएँ म
आफ्नो मिठो सपना
आमा बाबाको सपना,
प्रियसीको सपना,
छोराछोरीहरुको सपना अनि 
आफन्तहरुको सपना
सपना नै सपना !!

विचरा आमा, बाबा डाँडामाथिको घाम
औषधिले नै थेगेको छ
त्यसैले आमा-बाबाको निम्ति फार्मेसी बनेको छु
छोराछोरीको लागि एटीएम मसिन नै बनेको छु
विचरी श्रीमतीको लागि भरोषा बनिदिएको छु
आफन्तको लागि ईन्सुरेन्सको आँखा छल्दै
दुई चारवटा आईफोन कोसेली पठाउन भ्याएको छु
एउटै रुप हुँदा हुँदै पनि अनेक स्वरुप धारण गरेको छु !

यो महिनालाई त टालेँ भन्छु
फेरि अर्को महिना चुहिन्छ....
टाल्दाटाल्दै मेरा इच्छा र चाहानाको गला रेटिन्छ
म चुपचाप हेरिरहन्छु 
मेरो सम्पूर्ण जवानी  नै चुहिएर रित्तिएझैँ लाग्छ 
भविष्यको ढोकामा ठूलो ताल्चा लागेझैँ लाग्छ।

ताल्चाको साँचों खोज्न म भौँतारीन्छु
साँचो नभेटेर म रन्थनिन्छु
अनि फेरि एकदिन साँचो भेट्ने आशै आशमा 
आशा र विश्वासको बलियो धागोमा

आफूलाई बाँधिरहन्छु, बाँधिरहन्छु !!

- लक्ष्मी श्रेष्ठ

हाल :अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दुःखी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्