लेटेस्ट न्युज
advertisement1

हिंसाको हद पार गरेको राजावादीको आन्दोलन, २ जनाको ज्यान गयो, जताततै आगजनी

Maryada News 2025-03-29 08:03:28
हिंसाको हद पार गरेको राजावादीको आन्दोलन, २ जनाको ज्यान गयो, जताततै आगजनी

काठमाण्डू, राजसंस्था पुनर्स्थापनाको माग राखेर राजवादीले गरेको आन्दोलनले हिंसाको हद पार गरेको छ ।

शुक्रवार उनीहरूले राजधानीमा गरेको आन्दोलनले हिंसाको हद पारे गरेको हो । राजावादीहरूको आन्दोलन अराजक बन्दा दुई जनाले ज्यान गुमाउनुपरेको छ ।

यस आन्दोलनमा ३५ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरूले दर्जन बढी सवारीसाधनमा क्षति पुर्‍याए भने उनीहरूले समाचार संस्थामा समेत तोडफोड गरे ।

राजावादीहरूले तीनकुनेमा एक घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकले ज्यान गुमाए ।

तीनकुनेको घरमा लागेको आगो निभाउन पुगेको दमकलाई समेत प्रदर्शनकारीले रोकेका थिए । उनीहरूले आगो निभाउन गएको दमकलमा समेत तोडफोड गरे ।

यस्तै, स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा सविन महर्जनको ज्यान गयो । मानव अधिकार आयोगले प्रदर्शनलाई हिंसात्मक भनेको छ ।

‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगले भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

शुक्रवारको अराजक आन्दोलन प्रति राजसंस्था समर्थित दलहरूले नै आपत्ति व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनलाई हिंसात्मक बनाउनु आपत्तिजनक भएको बताएका छन् ।

हिंसात्मक आन्दोलनलाई राप्रपाले समर्थन नगर्ने उनको भनाइ छ । ‘हिंसात्मक आन्दोलनलाई राप्रपाले समर्थन गर्न सक्दैन् ।

आजको घटना निकै निन्दनीय छ राप्रपा त्यसको विपक्षमा छ,’ उनले भने ।

घटनाप्रति दुःख व्यक्त गर्दै लिङ्देनले संवादको बाटोमा अग्रसर हुन आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिंसात्मक आन्दोलनको भर्त्सना गरेका छन् ।

आन्दोलन हिंसात्मक बन्नुमा सरकारको दमन दोषी रहेको भन्दै उनले आगजनी र तोडफोडको निन्दा गरेका छन् ।

थापाले भनेका छन्,’सरकारी दमनको कारण उत्तेजित भीडले नेकपा एसको पार्टी कार्यालय, प्रकाशन गृह, निजी घर। सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ ।’

शुक्रवारको आन्दोलनमा १५ जना सुरक्षाकर्मी र १५ जना आन्दोलनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलनमा गोली लागेर सात जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरेका छन् ।

सरकारले राजवादीहरूले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसा बनेको छ । आन्दोलनको स्वरूप राजनीतिक र वैचारिक नभएर हिंसात्मक देखिएकाले हिंसा उक्साउनेलाई फौजदारी अभियोगमा कारबाही हुने सरकारले बताएको छ ।

गृहमन्त्रालयका सहसचिव छवि रिजालले सभ्य समाजले कल्पना समेत गर्न नसक्ने गरी तीनकुने लगायतका क्षेत्रमा हिंसात्मक आन्दोलन भएको बताएका छन् ।

हिंसा भड्काउन आन्दोलनका जनकमान्डर घोषणा गरिएका दुर्गा प्रसाईं जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।

शुक्रवार प्रसाईंले प्रहरीलाई किच्न खोज्दै गाडी गुडाएका थिए । उनले सुरक्षाकर्मीलाई अश्लील गालीगलौज पनि गरेका थिए ।

दुर्गा प्रसाईंले सुरक्षाकर्मी समेत मार्ने नियतले गाडी हुइँक्याएपछि परिस्थिति भड्किएको रिजालले बताए ।

जब दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाए । त्यसपछि स्थिति भड्किएको हो । सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाउने प्रसाईंलाई कारबाही हुन्छ,’ उनले भनेका छन् ।

आन्दोलनको अराजकता अनुमान गरेभन्दा बढी देखिएको उनले बताएका छन् । शुक्रवारको आन्दोलनमा प्रदर्शनकारीहरूले प्रेसलाई समेत निसाना बनाए ।

उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोड गरे भने अन्नपुर्णपोस्टको कार्यालयमा समेत तोडफोड गरेका छन् ।

यस्तै हिमालय टेलिभिजनको गाडीमा समेत उनीहरूले क्षति पुर्‍याए । प्रहरीको बन्दुक खोसेको दृश्य कैद गर्ने अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि पनि आन्दोलनकारीहरूले हातपात गरे ।

आन्दोलनकारीको कुटपिटबाट उनको खुट्टा भाँचिएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।

प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरेका छन् । राजवादीहरूको आन्दोलनलाई ठूला दलले अराजकताको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र मिडियामाथि आक्रमण गरेर राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरे ।

तीनकुनेको सभामा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए । उनीहरूको चरित्र नै त्यही हो,’ अध्यक्ष् दाहालले भने ।

यस्तै, नेकपा एमालेले आन्दोलनको बहानामा राजवादीहरूले आपराधिक क्रियाकलाप गरेका तत्काल कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।’

आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेसले राजवादीहरूले शुक्रवार काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको आलोचना गरेको छ।

पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण विरोध र संवैधानिक मार्गमा समाधान खोज्न आग्रह गरिएको छ ।

कांग्रेसले घर, मिडिया हाउस, कार्यालय, सपिङ मल र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई “अत्यन्तै निन्दनीय” कार्य भएको बताएको छ ।

महामन्त्रीद्वयले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गर्दै संविधानको दायरामा नै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

कांग्रेसले राजतन्त्रलाई पूर्णतः अस्वीकार गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई अझ सुधार्न प्रतिबद्धता व्यक्त गरेको छ ।

‘नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढङ्गले प्रतिबद्ध छौ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र रहेको बताउँदै राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प बन्न नसक्ने जिकिर समेत गरेको छ ।

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा ध्यान पुर्‍याउन र हिंसामा संलग्न व्यक्तिहरूलाई कानस्नी कारवाही गर्न सरकारलाई आग्रह समेत गरिएको छ ।

‘आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली काँग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ ।

घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्‌काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजावादी प्रदर्शनकारीहरूले गरेका हुल हुज्जत तथा तोडफोडको निन्दा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीहरूले आन्दोलनका नाममा गरेको अराजकताको घोर भर्त्सना गरेको छ ।

‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो ।

लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको जीवनको सुरक्षाका लागि शुक्रवार आपराधिक घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने उनले माग गरेका छन् ।

‘हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापरबाही घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीहरूलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्दछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्