काठमाडाैंः तत्कालिन नेकपा एमालेलेकाे केन्द्रीय पार्टी कार्यालय रहेकाे धुम्बाराहीमा आजबाट नेकपा एमालेकै नाम र साइनबोर्ड राखिने भएको छ। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पश्चात नेकपा एमालेबाट नेकपा भएकाे पार्टी कार्यालयमा आजबाट एमालेकै साइनबाेर्ड राखिने भएकाे हाे।
आइतबार सर्वोच्च अदालतकाे फैसला अनुसार नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाएका छन्। साथै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।
सोमबार नै मकवानपुर, माेरङसहित देशका विभिन्न पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको थियाे। आइतबार एमाले व्युँतिएकाे खुसियालीमा देशका विभिन्न भागमा एमालेका कार्यकर्ताहरूले दीप प्रज्जवलनसमेत गरेका थिए। सोहीक्रममा धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न लागिएको बताइएकाे छ।
प्रतिक्रिया