काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले शनिबार देउवा नेतृत्वको सरकारले गरेको १५ कामको सूची सार्वजनिक गरेको हो ।
पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेका देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । १७ मन्त्रालयको जिम्मेवारी देउवाले आफैंसँग राखेका छन् । देश आर्थिक ‘सट डाउन’ मा पुगेको छ ।
बजेटसम्बन्धी तीन अध्यादेश प्रतिस्थापन विधेयक संसदमा रहेका छन् र विधेयक पारित हुने सम्भावना न्यून देखिएको छ । यसबीचमा देउवाको सचिवालयले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरूप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई महत्त्वपूर्ण उपलब्धि भन्दै सार्वजनिक गरेको छ ।
खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो, बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनःस्थापना, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेजको घोषणा भएको सूचीमा उल्लेख गरिएको छ। त्यस्तै कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ताको घोषणा सरकारको उपलब्धि भएको उल्लेख गरिएको छ।
अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहात, राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ’पढ्दै कमाउँदै र महिला लक्षित ’महिला पहिला’ कार्यक्रम, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवाले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेका छन्।
प्रतिक्रिया