बबई, बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गइन ।
खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उहाँका सात वर्षका नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खेततर्फ हिँडे ।
केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमाभन्दा करिब ३० मिटर जतिको दूरीमा रसीको खटिया (चारपाई) राखिएको थियो ।
खटियामा सिर्जन खेलिरहँदा हजुरआमा सिँचाइकै काममा व्यस्त थिइन ।
यत्तिकैमा सिर्जन चिच्याएको आवाज गोवरीले सुनिन । बुदी’ (हजुरआमा) भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो ।
त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुग्दा नाति देखिनन् । नातिलाई चितुवाले लगेको उनका साथीले बताएपछि उनी झसङ्ग भइन ।
त्यति बेला चितुवाले त्यस स्थानबाट करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ दौडन थालिन ।
त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडिनुभएकी हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देखिन र आफूले सबै बिर्सिएर चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थालिन ।
करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमा गोवरीले तानिन ।
हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा आफू तर्किएपछि चितुवा त्यहाँबाट भागेको सिर्जनकी हजुरआमा गोवरी थरुनीले बताइन ।
उनले भनिन्, “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।”
नातिको उपचार, हजुरआमा सम्मानित
चितुवाको मुखबाट बचाइएका नाति सिर्जन नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रियापछि उपचाररत छन् ।
घटना सार्वजनिक भएपछि गुलरिया नगरपालिका–५ ले गोवरीलाई सम्मान गरेको छ ।
मृत्युको मुखमा पुगेको नातिलाई मृत्युको मुखबाट बचाउने साहसिक काम गरेका कारण उनलाई पाँच हजार रुपियाँसहित सम्मान गरिएको गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताए ।
प्रतिक्रिया