काठमाडौं : प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै प्रमुख राजनीतिक दलहरु अहिले नयाँ सरकार गठनका लागि समिकरण बनाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै दुई समूहमा विभाजित नेकपा कानूनीरुपमा अलग भइसकेको छैन।
तर राजनीतिकरुपमा विभाजित नेकपाका दुबै समूह सत्ताको नेतृत्वका लागि पहिला संसदीय दलको नेता चयन गर्नुपर्ने स्थितीमा आइपुगेका छन्। दुई महिनाअघि केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट कारबाहीस्वरूप निलम्बन गर्दै प्रचण्ड–मावध समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो। तर त्यसलाई निर्वाचन आयोगले आधिकारिकता दिएन।
अर्को तर्फ अहिले ओली समूहले संसदीय दलको नेतामा यसअघि संसदीय दलको उपनेता रहेका सुवास नेम्वाङलाई अघि सार्न लागेको जनाइकाे छ।
ओली समूहले सरकारको नेतृत्व दोस्रो पुस्तालाई दिने भन्दै नेम्वाङलाई अघि सारेको हो। अब दोस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउनुपर्छ भन्ने प्रधानमन्त्रीको मत रहेकाले उनले संसदीय दलको नेतामा नेम्वाङलाई अघि सार्न लागेकाे ओलीनिकट स्रोतले दाबी गरेको छ। प्रधानमन्त्रीले संसद फेस गर्ने बताइरहेका बेला दुबै समूहले छानेको संसदीय दलको नेता अब भने संसदबाटै टुंगो लाग्ने भएको छ।
प्रतिक्रिया