काठमाडौँ : नेपाली कांग्रेसका सस्थापन इतर समूहका दुई नेताले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका पौडेललाई महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
महाराजगञ्जमा शनिबार बेलुकी भएको छलफलमा पौडेललाई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ । नेता सिंहले छलफलका क्रममा आफूले मिलेर जानुपर्छ भन्ने कुरा गरेरमात्रै नहुने भन्दै आफूलाई सघाउन वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग आग्रह गरेका थिए ।
महाराजगञ्जमा छलफल हुनु अघि महामन्त्री कोइरालाले नेता पौडेल र सिंहसँग निवासमै पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । शनिबार बिहान पौडेलसँग छलफल गरेर उनी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
बालुवाटारबाट फर्किएपछि महामन्त्री कोइराला नेता सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । चाक्सीबारी पुगेर उनले बेलुकी महाराजगञ्जमा भएको तीन आकांक्षीबीचको चाँजोपाँजो मिलाएका थिए ।
प्रतिक्रिया