काठमाडौँ : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए । उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मामा नपार्ने बताए । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।
कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए ।
न्यूज एजेन्सीसँग कुराकानी गर्दै कार्यकारी निर्देशक पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गरे। उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए ।
कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेको बताए ।
उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्शानमा जाने दाबी गरे ।
कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।
प्रतिक्रिया