काठमाडौं : वाग्मती प्रदेश सरकारले बुधबार २३ प्रतिशतले बढाएको सार्वजनिक यातायातको भाडादर लागु नगर्ने यातायात व्यवसायीले बताएका छन् । सरकारले बढाएको भाडादर अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै लागु नगर्ने बताएका हुन् ।
बुधबार वाग्मती प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने गरी २३ प्रतिशतले भाडा बढाएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले वैज्ञानिक रूपमा भाडा समायोजन नगरेको बताए ।
‘‘महासंघ र यातायात व्यवस्था विभागबीच २०७८ वैशाख ९, ११, १२, १४ र १६ गतेका बैठकहरूबाट वैज्ञानिक भाडा निर्धारणका सूचकहरूलाई अध्ययन र मूल्यांकन गरी २८ प्रतिशत वैज्ञानिक भाडादर कायम गर्ने निर्णय भएको थियो । यसकै आधारमा असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट असार २९ गतेदेखि लागु हुने गरी समायोजन गरिएको थियो ।
तर, यो भाडादर लागु हुन सकेन । हामीले पटक–पटक आन्दोलन ग-र्यौ । तर, सरकारले समायोजित भाडादर लागु गर्न बेवास्ता गरिरह्यो,” महासचिव सिटौलाले भने ।
वैज्ञानिक भाडादर समायोजन गर्न वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई पटक–पटक भेटेर माग गरेको तर बेवास्ता गरेको महासचिव सिटौलाको भनाइ छ । ‘‘भदौ १६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको भाडा समायोजन कार्यदललाई थप पाँचबुँदे सुझाव दिएका थियौँ । उक्त भाडादर २८ प्रतिशतले समायोजन हुने बेला डिजेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र पेट्रोलको प्रतिलिटर १२१ रुपैयाँ थियो ।
तर, पछि डिजेलको मूल्य बढेर प्रतिलिटर ११३ रुपैयाँ पुग्यो भने पेट्रोलको मूल्य १२९ रुपैयाँ पुग्यो । त्यस समयावधिदेखि नै इन्धनको मूल्यसमेत समायोजन गरी वैज्ञानिक भाडादर समायोजन गर्न माग गर्दै आएका थियौँ,” उनले भने, ‘‘वाग्मती प्रदेश सरकारले अव्यावहारिक रूपमा भाडा बढाएको छ । यो कुनै पनि हालतमा हामी लागु गर्दैनौँ ।
प्रतिक्रिया