काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताका लागि राखेको प्रस्ताव आन्दोलनरत कानुन व्यवसायीहरुले अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन आन्दोलनरत छन् ।
कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै सम्वादमा आउन आग्रह गरेका थिए।
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् ।
उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् । तर जबरा राजीनामा नदिने अडानमा छन् । उनले सोमबार जारी गरेको विज्ञप्तिमा पनि राजीनामाको प्रसंग उल्लेख छैन ।
प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’
जबराको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु ।’
प्रतिक्रिया