काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले ९० वटा बार इकाइसँग छलफल गरिरहेको छ ।देशभरका जिल्ला अदालत, उच्च अदालत र विषेश अदालतका बार इकाइसँग आइतवार भर्चुअल छलफल गरिरहेको नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
यसअघि चार दिन कालोपट्टी बाँधेर विरोध गरेको बारले आन्दोलनलाई थप कडा बनाउँदै देशव्यापी बनाउने तयारी गरेको हो । चार दिनको आन्दोलनबाट पनि प्रधानन्यायाधीश जबरा राजीनामा दिन तयार नभएपछि उनलाई बाध्य पार्ने गरी आन्दोलन तय गर्ने नेपाल बारका एक सदस्यले बताए ।
यसअघि बारले प्रधानन्यायाधीश राणालाई चारदिन भित्र (कात्तिक १७) मा राजीनामा दिन अल्टिमेटम दिएको थियो । तर प्रधानन्यायाधीशले त्यसपछि आफू मुद्दा नहेरे पनि इजलास बहिस्कार गरिरहेका न्यायाधीशसँग छलफल गरेका थिए ।
न्यायाधीशबिचको छलफलपछि भने सर्बोच्चमा बन्दिप्रत्यक्षीकरणका मुद्दा हेर्न सुरु भएको छ । तर त्यसका लागि पनि न्यायाधीशहरुले कडा शर्त राखेका छन् ।
प्रधानन्यायाधीश राणाको इजलास बस्न नहुने र अन्य मुद्दा पेश तोक्न नहुने अडान छ । अन्य मुद्दा पेशी तोकेका दिन कुनै पनि इजलास बसेका छैनन्।
प्रधानन्यायाधीश राणाले सरकारसँग भाग खोजेर न्यायालयलाई बदनाम गराएको भन्दै सर्वोच्चमा आन्दोलन भइरहेको हो ।
प्रतिक्रिया