काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । शनिबार (आज) बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन’, उनले भने, ‘यसमा म दुखी छु ।’ उनले भोलिका दिनमा उनीहरुलाई उचित जिम्मेवारी दिने बताए । शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।
यस्तै प्रधानमन्त्री देउवाले बिपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिए । कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए । यस्तै काँग्रेसमा संविधानविद् तथा बीपीबारे अध्येता बिपिन अधिकारले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया