काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा बिहिबार डोटीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए ।
‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैंमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु’, उनले भने । राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उनको भनाइ थियो ।
राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उनले बताए । ‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु’, उनले भने ।
साथै उनले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराए ।
प्रतिक्रिया