लेटेस्ट न्युज
advertisement1

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता 

Maryada News 2021-07-26 21:57:27
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता 

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।     
     
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए । एक सदस्य तटस्थ रहेका छन् । जसपाको विवाद निरुपणका लागि आयोगले आज पार्टीका सबै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराएको थियो ।

जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो ।

आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो । जसपाको सङ्घीय संसद्को दुवै सदनमा सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्