एजेन्सीः भारतीय चलचित्रका अभिनेता दिलिप कुमारकाे निधन भएकाे छ। बुधबार बिहान ९८ वर्षकाे उमेरमा अभिनेता दिलिप कुमारकाे निधन भएकाे हाे।
श्वासप्रस्वाससम्बन्धी समस्याका कारण उनकाे निधन भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दिलिप कुमारकाे स्वास्थ्य अवस्था निकै अघिदेखि खराब रहँदै आएकाे थियाे। पछिल्लाे एक महिनामा पनि उनलाई दुई पटक अस्पताल भर्ना गरिएकाे थियाे।
अभिनेता दिलिप कुमारकाे असली नाम मोहम्मद यूसुफ खान हाे। उनले चलचित्र क्षेत्र प्रवेश गरेपछि नाम परिवर्तन गरेका थिए।
उनले अभिनय गरेकाे चर्चित चलचित्रहरूमा ‘ज्वार भाटा’ (१९४४), ‘अंदाज’ (१९४९), ‘आन’ (१९५२), ‘देवदास’ (१९५५), ‘आजाद’ (१९५५), ‘मुगल-ए-आजम’ (१९६०), ‘गंगा जमुना’ (१९६१), ‘क्रान्ति’ (१९८१), ‘कर्मा’ (१९८६) र ‘सौदागर’ (१९९१) रहेका छन्। उनले झण्डै ६० वटा चलचित्रमा अभिनय गरेकाे बताइएकाे छ।
दिलिप कुमारकाे निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले दिलिप कुमारलाई ‘सिनेमाटिक लेजेन्ड’ का रुपमा सदैव याद राखिने बताएका छन्। यस्तै उनले दिलिप कुमारकी श्रीमती अभिनेत्री सायरा बनुसँग पनि फाेन वार्ता गरेर समवेदना व्यक्त गरेका छन्।
दिलिप कुमारकाे जन्म ११ डिसेम्बर १९२२ मा तत्कालिन ब्रिटिश इण्डियाकाे पेशावर (हालकाे पाकिस्तान)मा भएकाे थियाे। २२ वर्षकाे उमेरमा नै उनले आफ्नाे पहिलाे चलचित्रमा काम गरेका थिए।
उनले सन् १९९१ मा पद्म भूषण पाएका थिए भने सन् १९९४ मा दादासाहेब फाल्के पुरस्कार पाएका थिए। सन् २०१५ मा उनलाई पद्म विभूषणबाट विभूषित गरिएकाे थियाे। उनले आफ्नाे जीवनकालमा १० वटा फ्लिमफेयर र तीन पटक नेशनल अवार्ड पनि जितेका थिए।
प्रतिक्रिया