काठमाडौं : गजल र आधुनिक संगीतमा चर्चा कमाएका गायक राज सागरले विभेद विरुद्धको गीत गाएका छन् । कम्युनिष्ट नेता तथा लेखक आहुतीको शब्दमा रहेको 'ए मन भएको मान्छे' बोलको गीत मर्यादा अनलाइन टिभीको युट्युब च्यानलमा केही महिना अघि सार्वजनिक भएको थियो ।
२१औँ शताब्दीमा पनि मान्छेले जातकै कारण विभेद ब्यहोर्नु परिरहेको सन्दर्भमा यस प्रकारको रचनात्मक गीत गाउन पाउँदा खुशी लागेको गायक राज सागरले बताए । मर्यादा मिडियाको प्रस्तुतीमा रहेको गीतकाे भिडियो गायक राज सागरकै संगीतमा तयार भएको हो । २१औँ शताब्दीमा पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको भन्दै असमानता र अन्यायको जरो, जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीत बजारमा ल्याएको गायक राज सागर बताउँछन् ।
उक्त गीत ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले भिडियो सहित सार्वजनिक गरेका थिए । 'माया पिरतीका धेरै गीत गाईयो, ताली पनि पाईयो नाम र दाम सबै पाईयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो यो मेरो, ए मन भएको मान्छे' गायक राज सागर रोमान्चित हुँदै थप्छन्, 'मान्छेहरु जातकै कारण मारिने क्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले पूर्णता पाएको छ।'
संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो...
प्रतिक्रिया